गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी

जेनजी प्रदर्शनकारीहरूले मंगलबार साँझ भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गरेका छन्।

बाक्लो संख्यामा विमानस्थल परिसरमा प्रवेश गरेका प्रदर्शनकारीहरूले भौतिक संरचनामा तोडफोड गर्नुका साथै चारवटा सरकारी सवारीसाधनमा आगजनी गरेका हुन्।

त्यस्तै, केही सुरक्षाकर्मीका गाडीमा पनि क्षति पुगेको छ। मंगलबार मध्यान्हदेखि नै विमानस्थल बाहिर युवाहरूले प्रदर्शन गरिरहेका थिए। दिउँसो नाराबाजी गरेर फर्किएका उनीहरू अपरान्ह पुनःविमानस्थल परिसरमा प्रवेश गरी आगजनीमा उत्रिएका हुन्।

घटनापछि सुरक्षाकर्मीहरूले परिस्थितिलाई नियन्त्रणमा लिन प्रयास जारी राखेका छन्।