जर्मनको ह्याम्बर्गमा बेलबिवाह सम्पन्न

जर्मनको ह्याम्बर्ग शहरमा इहि (बेलबिवाह) सम्पन्न भएको छ । नेवाः खलः, ह्याम्बर्गको आयोजना, वर्ल्ड नेवाः अर्गनाइजेशन जर्मन च्याप्टरको सहयोग तथा उर्मिला बदगामी श्रेष्ठको संयोजनमा ह्याम्बर्गको हिन्दू मन्दिरमा मार्च २ तारिखमा नेवाः समुदायमा गरिने इहि (बेलबिवाह) सम्पन्न भएको हो । उक्त धार्मिक कार्यक्रममा ह्याम्वर्ग जर्मनी, फ्रार्न्फ्रट, बेल्जियम र उस्तेन्डेका चार जना बालिकाहरुको बेलविवाह गरिएको हो।

बेलबिवाह यूके, लन्डनबाट आएका पुरोहित सुभाष बज्राचार्यं सम्पन्न गर्नु भएको हो। कार्यक्रमलाई सफल बनाउन वर्ल्ड नेवाः अर्गनाइजेशनका केन्द्रीय अध्यक्ष संयुक्त श्रेष्ठले आवश्यक समन्वय तथा सहयोग गर्नुभएको हो। नेवाः खलः ह्याम्वर्गका संस्थापक अध्यक्ष मानव कुमार श्रेष्ठको सभापतित्व भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा वर्ल्ड नेवाः अर्गनाइजेशनका केन्द्रीय उपाध्यक्ष रजनी प्रधान, विशेष अतिथिको रुपमा रविन्द्र मान श्रेष्ठ हुनुहुन्थ्यो भने वर्ल्ड नेवाः अर्गनाइजेशन यूरोप कोअर्डिनेटर कुमार नापितले पनि समन्वय तथा सहयोग गर्नु भएको थियो । कार्यक्रममा नेवाः समुदाय तथा नेवाः संघ संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।