होली पर्व सद्भाव र रंगको पर्व मात्र नभइ सम्पदामैत्री पर्व पनि हुनु पर्दछ

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व सद्भाव र रंगको पर्व हो। होली पर्व सुरु हुनु अगावै अरुलाई लोला हान्ने, पिच्कारीले भिजाउने, सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरित रङ लगाउने जस्ता क्रियाकलाप केही वर्ष यता कम हुँदै गएको देखिन्छ भने यो वर्ष यस्ता कृयाकलाप निकै कम देखिएको थियो। तर होलीका दिन हुने होली खेल्ने नाममा हुने विकृति भने अझै हट्न सकेको छैन।
हरेक वर्ष झै हिजो पनि काठमाडौं उपत्यकाको बसन्तपुरमा फागुको ठूलो उत्सव भएको थियो ।

न्यूरोड गेटदेखि बसन्तपुरसम्म मानिसहरुको ठूलो घुइँचो लागेको थियो । सबै मानिसहरु विभिन्न रंगले रंगिएका थिए । स्वदेशी मात्र होइन विदेशीहरु पनि उत्तिकै रमाइरहेका थिए। सेतो टिसर्ट लगाएर आएका नेपाली र विदेशीहरुको ठूलो समूह रातो, निलो, हरियो, पहेँलोलगायत विभिन्न रङमा रंगिएको थियो । लोला र पिचकारीबाट पानी छ्यापाछाप गरेर समेत रमाइलो गरेका थिए।

तर होलीको रौनक यतिमा मात्र सिमित भएन। लोला र पिचकारीबाट मात्र नभइ चप्पल हानाहान गरेर पनि होली खेल्न पुगे। अराजक भीडले बसन्तपुर क्षेत्रमा रहेको एतिहासिक गद्दी बैठकको सुरक्षाका लागि राखिएका मोटा मोटा सिक्रि पनि टुक्रा टुक्रा गरेर चुडाल्न पुगे।

होली पश्चात बसन्तपुर क्षेत्रमा एकातिर मोटा मोटा सिक्रिका टुक्रा टुक्रिहरू असरल्ल परेका दृश्य देखिएको छ भने अर्कोतिर जुत्ता, चप्पल, लुगा फाटा, प्लाष्टिक, बान्ता गरिएका फोहोरहरू असरल्ल परेको देख्न सकिन्छ। होली खेल्नु अघिको बसन्तपुर र खेलिसकेपछिको बसन्तपुरको दृश्यमा आकाश जमिनको फरक छ। यो सबैको जिम्मेवार को?

काठमाण्डौं उपत्यकाको फागु मनाउने विधि पनि फरक छ। हनुमानढोका दरबारको दक्षिण पटाङगिनी स्थित, ऐतिहासिक मोहनकाजी चोक तथा दाख चोकमा फागुन शुक्ल अष्टमीमा ३२ फुट उचाइको तीनतले रंगीविरङगी चीर ठड्याएसँगै सप्ताहव्यापी रुपमा होली पर्व सुरु हुन्छ भने पूर्णिमापछि विधिपूर्वक चीर दहन गरेसँगै पर्व समापन हुन्छ। रातभर खेल्ने काठमाण्डौं उपत्यकाको संस्कृति होइन।
ललितपुरको ढोलाहितिमा होली खेल्ने क्रममा दुई समूहविच भएको विवादले उग्र रूप लिएपछि गएराती दुई जना युवाले ज्यान गुमाउन परेको घटनाले पनि होली पर्व संयमित भएर मनाउनको लागि सन्देश दिएको छ।
होली पर्वलाई विकृति र आफ्नो सान, मान र अभिमान देखाउने पर्वको रुपमा भन्दा पनि परम्परा, सम्पदामैत्री, मैत्रीभाव र सुख–दुःख आदान प्रदान गर्ने पर्वको रुपमा मनाउन आवश्यक छ।
तलको लिंकमा क्लिक गर्नु होला भिडिओको लागि
https://www.facebook.com/watch/?v=300765489501238