नेपाल लिपि र रञ्जना लिपि लेख्न सिकाउने ट्यूटोरियल भिडियो र नेपालभाषा डिक्सनररु एप सार्वजनिक

नेपाल लिपि र रञ्जना लिपि लेख्न सिकाउने ट्यूटोरियल भिडियो र नेपालभाषा डिक्सनररु एप सार्वजनिक भएको छ । नेपाल लिपि गुथि र दबुलि नेपालको संयुक्त प्रयासमा यस निर्माण गरिएको यस ट्यूटोरियलले नेपाल लिपि र रञ्जना लिपिको स्वर वर्ण र व्यञ्जन वर्ण कसरी लेख्ने भनेर सजिलै सिकाई दिन्छ । यस ट्यूटोरियलको साथै सार्वजनिक भएको नेपालभाषा डिक्सनरी एपले नेपालभाषाको शब्दको अर्थ बुझाउनुका साथै नेपालभाषा सिक्न पनि सहयोगी हुने भनिएको छ ।

काठमाण्डौं महानगर पालिकाको सहयोगमा निर्माण गरिएको यस भिडियो र एप बिहीकार एक कार्यक्रमका बिच काठमाण्डौं महानगर पालिकाका उपमेयर सुनिता डंगोल, नेपालभाषा एकेदेमीका भाइस चान्सलर मल्ल के सुन्दर, सुरेश मानन्धर, र नेपालभाषा केन्द्रीय विभागका प्रमुख सह प्रा. डा. राजनलाल जोशीले सार्वजनिक गर्नुभएको हो । डिक्सनरीमा पहिलो पटक ‘लुखा’ शब्द सर्च गरेर डिक्सनरीको ढोका उघार्नु भएका उपमेयर डंगोलले नेपालभाषा र लिपि सिक्नका लागि यस्ता एपले सहयोग पुर्याउने विश्वास ब्यक्त गर्नुभयो । आजकलको युग प्रविधिको युग भएकाले भाषा लिपि संरक्षणका लागि प्रविधि मैत्री हुनुपर्ने आवस्यकताबोध भएर नै काठमाण्डौं महानगर पालिकाले एप बनाउन सहयोग गरेको कुरा वहाँले बताउनु भयो ।

कार्यक्रममा बोल्नुहुँदै नेपालभाषा एकेदेमीका भाइस चान्सलर मल्ल के सुन्दरले नेपालभाषा, लिपि, संस्कृति संरक्षण कार्यमा आजकल प्रविधिलाई प्रयोग गरी युवा पुस्ता अगाडि बढेको कुरामा खुशी ब्यक्त गर्नुभयो । वहाँले भन्नुभयो– “भाषा, लिपि संरक्षण कार्यमा यसरी युवा पुस्ता अगाडि बढेको देखेर निकै खुशी छु । आजकलका युवाहरु प्रविधिको प्रयोग गरी भाषा लिपि, संस्कृति संरक्षण गरिरहेको देखेर मलाई अब हाम्रो भाषा, संस्कृति कसले बचाउँछ, कसले संरक्षण गर्छ भन्ने चिन्ता रहेन ।”

त्यसै गरी कार्यक्रममा बोल्नुहुँदै आइटीविज्ञ एलेन वैलोचन तुलाधरले एपको निर्माणपछि यसलाई प्रयोगमा ल्याउने दायित्व अब हाम्रो समाजमा आएको कुरा बताउनु भयो । “एप बनाएर मात्र हुँदैन, त्यसको प्रयोग पनि हुनु पर्दछ । प्रयोगमा आएन भने कुनै पनि एपको औचित्य रहँदैन, तसर्थ यसको ब्यापक प्रयोग गर्ने दायित्व हामीमा आएको छ । तसर्थ सबैले यस एपपलाई शेयर गरेर भाइरल बनाउनु पर्दछ” वहाँले भन्नु भयो ।

नेपालभाषा डिक्सनरी एप्सको प्रोजेक्ट प्रमुख सुभाषराम प्रजापतिले भिडियो सन्देश मार्फत एप्सबारे जानकारी दिनुभएको छ । वहाँका अनुसार यस एप्समा देवनागरी, रोमन र नेपाललिपि प्रयोग गरी नेपालभाषाको शब्द सर्च गर्न सकिन्छ भने यसमा शब्दका अर्थको साथै उक्त शब्दसँग सम्बन्धित फोटो पनि समावेश भएको कुरा बताउनु भयो । कार्यक्रममा यस डिक्सनरीमा एकचालीस हजार भन्दा बढी शब्दहरु समाबेश भएको र दोलखा भाषाका शब्दहरु समेत रहेको जानकारी गराइएको छ । यस एप एन्ड्रोइड र ओएस दुबैमा सञ्चालन हुन्छ । नेपाल लिपि गुथिको ४४ औं जन्मदिनको अवसर पारी यस एपको सार्वजनिक भएको हो । कार्यक्रममा सभापतिको आसनबाट बोल्नु हुँदै गुथिका अध्यक्ष अनिल स्थापितले लिपि गुथिले गर्दै आइरहेका कार्यको जानकारी दिनुहुँदै अझ प्रविधि मैत्री भएर अगाडि बढ्नका लागि गुथिले योजना बनाइरहेको कुरा बताउनु भयो ।