काठमाण्डौं महानगर पालिकाको स्थानीय वडाले काठमाण्डौं भित्र राखिएको नेमप्लेटले गर्दा काठमाण्डौंको पहिचान बिग्रने भनी स्थानीयवासीहरुले सरोकार ब्यक्त गरेका छन् ।


काठमाण्डौंका विभिन्न टोलहरुमा टोलको नामको नेमप्लेट राख्ने क्रममा काठमाण्डौं महानगर पालिकाको स्थानीय वडाले उक्त क्षेत्रको ऐतिहासिक पुराना नामको साथमा पुरानो नाम बिगारेर नयाँ नाम पनि राखिएको छ । जस्तै– मौलिक नाम ‘वंघः’को तलतिर इन्द्रचोक भनी राखिएको छ । वंघः टोलको नाम वंघः नै रहेको र पछि गएर खसकरण गरिने क्रममा इन्द्रचोक भनी भन्ने गरिएको हो ।
यसै सन्दर्भमा– काठमाण्डौं महानगर पालिका, सम्पदा तथा पर्यटन विभागले बृहत रुपमा का.म.पा भित्र ३२ वटै वडामा मौलिक नाम पुनर्स्थापन योजना अगाडि बढाई ५ वटा वडाको काम अन्तिम चरणमा पुगी कार्यान्वयनको अवस्थामा रहेको र हालको यस कार्य सम्पदा विभागसँग समन्वय नगरी गरिएको भनी उक्त योजनाका एक सल्लाहकार पौभाः साय्मिले जानकारी दिनुभएको छ ।
तर अहिले ‘वंघः’ भनी लेखेर तलतिर इन्द्रचोक पनि लेखिएको सन्दर्भमा काठमाण्डौंको पहिचान बिगार्ने काम भएको भनी दोषारोपन गर्न शुरु गरिएको छ । साथै, चाँडै नै मौलिक र पुरानो नाम मात्र राखी नेमप्लेट राखिन पनि स्थानीयवासीहरुले अनुरोध गर्नुभएको छ । यस अघि का.म.पा.का पुरानो मेयर विद्या सुन्दर शाक्यले काठमाण्डौंका टोलहरुमा पुरानो नाम मात्र राखी नेमप्टेल राखिएकोमा अहिले सो निकाली नयाँ नेमप्लेट राखिएको हो ।
