ट्रकको ठक्करबाट महिलाको मृत्यु ,लुकेर चेकिङ गर्दा भयानक दुर्घटना,

भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। बिहीबार दिउँसो १:४० बजेतिर ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो। ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिराखेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट स्कुटर केही मिटर परसम्म घिसारिएको थियो ।

ट्रकको चक्काले स्कुटर चालक महिलालाई च्यापेको थियो। ज्यान गुमाएकी महिलाको पहिचान खुलिसकेको छैन । घटनास्थलमा ज्यान गुमाएकी महिलाको झोला भेटिएको छ । उनी कलेजकी विद्यार्थी रहेको बताइएको छ । दुर्घटनापछि जम्मा भएको भिडले ट्रकमा तोडफोड गरेका छन् ।

आज भएको दुर्घटनाले ट्राफिक प्रहरीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ । लुकेर गरिएको चेकिङका कारण एक स्कूटर चालकको ज्यान गएको यो घटनाले ट्राफिक प्रहरीको चेकिङ प्रणालीमाथि प्रश्न उठाएको हो ।

दिउँसो करिब २ बजेतिर गठ्ठाघर चोकमा अकाशे पुलबाट केही पर सडक छेउको बुट्यानमा लुकेर ट्राफिक प्रहरीले स्पीडचेकर क्यामेरासहित स्पीड चेकिङ गरिरहेका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार ट्राफिक प्रहरीले बिहान १२ बजेदेखि नै लुकेर चेकिङ गरिरहेका थिए । उनीहरूले भने, “झट्ट ट्राफिक देखेपछि ट्रकले ब्रेक लगाउँदा रोकिएन, २०-३० मिटरसम्म स्कूटरलाई घिसारेर लग्यो ।”