पन्चदान कार्यक्रम वि.सं. २०६४ सालदेखि निरन्तर रूपमा उपत्यकाका बौद्धजनहरूलाई सहभागी गराई भव्य रूपमा सञ्चालन गर्दै आइरहेको नेपाल परम्परागत बौद्ध धर्म संघको सामूहिक पन्चदान कार्यक्रम यस वर्ष पनि भव्य रूपमा ने.सं. ११४४ गुंलागाः त्रयोदसि, शनिवार (२०८१ भाद्र १५ गते) सम्पन्न भएको छ । लुप्त हुन लागेको उपत्यकाको बौद्ध संस्कृतिमा शिक्षित, विद्वान र प्रतिष्ठित व्यक्तित्वहरूको सहभागितामा वृद्धि गर्ने, संस्कृतिलाई भव्य रूपमा निरन्तरता दिंदै जाने कार्यको रूपमा पनि यस पञ्चदान कार्यक्रम सामूहिक रूपमा अगाडि बढाउँदै आइरहेको हो ।
धार्मिक र सांस्कृतिक कार्यक्रमको रूपमा अगाडि बढाउँदै आइरहेको यस सामूहिक पञ्चदान कार्यक्रमबाट प्राप्त हुने दान दक्षिणा सबै लुम्बिनीमा निर्माण भइरहेको वज्रयान महाविहारको निमित्त समर्पण गर्दै आइरहेको छ । शाक्यमुनि भगवान बुद्धले नेपालको पवित्र लुम्बिनीमा जन्मनु भई विश्वलाई शान्तिको मार्ग देखाउनु भएकोले लुम्बिनी मार्फत विश्वका सबैले शान्तिको प्रेरणा लिँदै आइरहेको छ । यसरी नेपालको आफ्नै शैलीको महत्वपूर्ण महाविहार निर्माण गरी आज करिब करिब सम्पन्न भएको अवस्था छ । यसरी सबैले पञ्चदान ग्रहण गरी त्यसलाई जम्मा गरी यस विहार निर्माण गर्ने कार्यमा टेवा दिने कार्य भएको हो भने, यसको श्रयको पात्र यस सामूहिक पञ्चदान कार्यक्रममा भाग लिनुभएका सम्पूर्ण शाक्य, वज्राचार्यज्यूहरू हुनुभएको छ । नेपालको कला, संस्कृति झल्किने विहारको निर्माण गरी सबैको मन जित्न पनि सफल भएको छ । बुद्ध धर्म भनेको नै मानव धर्म भएको कारणले गर्दा सम्पूर्ण मानवलाई हित, सुख र कल्याण गर्नु नै यस धर्मको मूल उद्देश्य भएको नाताले धेरै जसो बौद्ध उपासक उपासिकाहरूले पञ्चदान पर्वको समयमा दान धर्म स्वरूप पञ्चदान गरी पुण्य प्राप्त गर्ने कार्य गर्नुभएको छ ।
शान्तिकामी र बौद्ध कर्ममा श्रद्धावान हुनुभएका सम्पूर्णका तर्फबाट पूर्ण सहयोग प्राप्त भएकाले नै प्राचीन शैलीमा लुम्बिनीमा नेपाल वज्रयान महाविहार निर्माण गर्ने कार्यमा सफलता प्राप्त भएको हो । थँबहीको भगवान बहालबाट विहान शुरु गरिएको यस समूहको सामूहिक पञ्चदान कार्यक्रमका सहभागीहरू विभिन्न बहाल र टोलमा गई पञ्चदान ग्रहण गरी आफ्ना बौद्ब कर्तब्य पूरा गर्ने कार्य गर्दै आइरहेको छ । यस सामूहिक पञ्चदान कार्यक्रममा धेरै महिलाहरूले पनि भाग लिनुभई आफ्ना धर्म निर्वाह गर्नुभएको छ । यस समूहले आफ्ना यात्रोको रूट थँबही भगवान बहाः, क्वाःबहाः, थँबही, झ्वाःबहाः, तंलाछि, ध्वाखाबहाः, गंबहाः, नःघः बहाः, थाय्मरु, न्हूबहाः, असं, दगु बहाः, तःक्ष बहाः, जनबहाः, इतुंबहाः, अतलखु बही, मूबहाः, चीधंबहाः, मखं बही, मखं बहाः, लाय्कू बही, प्याफः, चसान, मरुबही, मरुहिति, पिगंननि, मरुसतः, सिखंमू बहाः, चिकंमू, मिखाबहाः, इकुबहाः, मुसुंबहाः, लगं बहाः, तःबहाः, न्हाय्कं बही, स्वबहाः, यंगाः, नःबही, ओमबहाः, पुलांभंसाः, नच्छे गल्लि, तेबहाः, न्हूसतक, दुगं बही, सवल बहाः, महाबू बहाः भई जमल तेज महलमा पुगेर समापन गर्ने कार्य भएको छ ।
