आज दिनभर वर्षा हुने,बाढि र पहिरोको जोखिम

जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न स्थानमा भारी र अति भारी वर्षा निरन्तर हुने बताएको छ । देशभरका अधिकांश क्षेत्रको मौसम बदली तथा वर्षाको अवस्थामा रहेको भारी वर्षा हुने सम्भावना रहेकाले सचेत हुन पर्ने देखिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घन्टामा धाप ड्याममा २२.६ मिलिमिटर, साँखुमा १५ मिलिमिटर, सुन्दरीजलमा १६.६ मिलिमिटर, कीर्तिपुरमा ३२ मिलिमिटर, त्रिभुवन विमानस्थलमा १९.२ मिलिमिटर, पानी पोखरीमा १७ मिलिमिटर वर्षा भएको छ।
त्यस्तै भक्तुपुरको नगरकोटमा २६.४ मिलिमिटर वर्षा भएको छ। ललितपुरको लेलेमा २८.२ मिलमिटर, खुमलटारमा २३.६, गोदावरीमा २४.६, टीकाथलीमा १५.२ मिलिमिटर वर्षा मापन भएको छ।

देशको पश्चिमी क्षेत्रमा भने भारी वर्षा हुने सम्भावना रहेकाले सचेत हुन पर्ने देखिएको छ । विशेषगरी पश्चिम तराई भेगमा भारी वर्षाको सम्भावना रहेको छ । लगातार पानी पर्ने भएकाले विशेषगरी नदी किनार, तटीय क्षेत्र, खहरे खोला आसपास र पहिरोको जोखिम रहेका क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ ।

बर्खे झरी पर्न सुरु भएकाले विशेषगरी रातिको समयमा पानी बेसी पर्ने मौसमविद मञ्जु बासीले बताइन् । अबको केही दिन पार्नी लगातार पर्ने सम्भावना छ । रोपाइँ गर्न नपाएका किसानका लागि अब रोपाइँ गर्न मिल्ने गरी पानी पर्ने मौसमविदको भनाई छ ।