‘नेपाल प्रिमियर लिग’ क्रिकेट आज देखि, उद्घाटन खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्स बीच

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एन.पि.एल.) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आज देखि राजधानीमा शुरु हुँदैछ ।

नेपाल क्रिकेट सङ्घ (क्यान्)को आयोजनामा आगामी पुस ६ गते सम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।

स्वदेशी तथा विश्व चर्चित खेलाडीको आगमनले पनि एन.पि.एल.ले बजारमा निकै चर्चा पाएको हो । त्यसो त दुलही झैँ सिङ्गारिएको कीर्तिपुर स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको चर्चा पनि उत्तिकै छ । त्रि.वि. मैदानमा कैयौँ खेल भए तर, यसपटक भने आम दर्शकका लागि ‘डिजिटल स्कोर बोर्ड’ जडान गरिएको छ । यसले खेलाडी टिम र खेलप्रेमी दर्शकलाई त्रि.वि. मैदानमा ठूलो स्क्रिनमा खेलको स्कोर र अपडेट हेर्न सहज हुनेछ ।

स्टार स्पोर्ट्सबाट पहिलो पटक प्रत्यक्ष प्रशारण, पहिलो पटक फ्रेन्चाइज लिगमा ८ टिम सहभागि, टीयू मैदानमा विभिन्न खालका सुविधा, करोडौँ लगानी देखि स्टार विदेशी खेलाडीको आगमनले एनपीएले सुरु हुनु अघि नै निकै ठूलो हाइप पाइसकेको छ ।

त्यसो त एन.पि.एल.मा विश्वचर्चित स्टार खेलाडीको सहभागिताले पनि प्रतियोगिता थप रोमाञ्चक हुने आशा गरिएको छ । विश्वचर्चित भारतीय खेलाडी शिखर धवनको आमगनले पनि नेपाली क्रिकेट खेलमा थप उत्साह थपिएको हो । भारतका लागि तीनवटै फर्म्याटमा खेलिसकेका स्टार खेलाडी  धवन, न्यूजिल्याण्डका मार्टिल गप्टिलजस्ता स्टार खेलाडी पहिलो पटक नेपालमा लिग खेल्न आउँदैछन् । त्यसमा जिम्मी निसम र बेन कटिङ जस्ता टी–२०का स्टार खेलाडीको सहभागिताले पनि एन.पि.एल. निकै चर्चामा आएको हो ।

क्यानले प्रतियोगिताको विजेता टोलीलाई ठूलै नगद पुरस्कार दिने भनिएता पनि हाल सम्म के कति पुरस्कार दिने भन्ने विषयमा खुलाएको छैन ।

विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै

एनपीएलको पहिलो संस्करणको उद्घाटन खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२:१५ बजे सुरु हुनेछ ।

त्यसअघि टीयू मैदानमा उद्घाटन समारोह हुने क्यानले जनाएको छ । जसमा केही प्रस्तुती पनि हुने जनाइएको छ ।

विराटनगर किंग्सको कप्तानी लेगस्पीनर सन्दीप लामिछाने र जनकपुरको कप्तानी टप अर्डर ब्याटर अनिल शाहले गर्नेछन्

सन्दीप विराटनगरका मार्की खेलाडी पनि हुन् । जनकपुरको मार्की आसिफ शेख हुन् तर अनिललाई कप्तान चयन गरेको हो । जनकपुरले मात्र मार्की बाहेक फरक खेलाडी कप्तान बनाएको हो ।