सातगाउँले जात्रा शुरू, कीर्तिपुर र चन्द्रागिरिमा आज सार्वजनिक बिदा

काठमाण्डौको दक्षिणपश्चिम क्षेत्रमा सात गाउँले जात्रा हिजो बाट शुरू भएको छ । कीर्तिपुर दरबार क्षेत्रसँगै आसपासका मच्छेगाउँ, बोसीगाउँ, ल्होखा, सतुङ्गल, पाँगा र नगाउँमा जात्रा हुने गर्छ ।

सातगाउँले जात्रालाई नेपाल भाषामा बखुमद न्हय्गाँ भनिन्छ । काठमाण्डौको पश्चिमी भेगका सातगाउँका शक्तिपीठमध्ये बल्खुकी विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुङ्गलका शक्तिपीठ र भैरवलाई सन्तान मानिन्छ ।

आमालाई भेट्न हरेक वर्ष मङ्सिर शुक्ल नवमीका दिन सन्तानहरू आउने विश्वासअनुसार भोलि बिहानै सबै गाउँको रथ बल्खु सम्बद्ध गुठियार र गाउँलेले बाजागाजासहित चन्द्रागिरी तीनथानामा रहेको विष्णुदेवी मन्दिरमा ल्याउने गर्छन् ।

आजनै कीर्तिपुरमा इन्द्रायणी जात्रा र पाँगाको दुई ठाउँमा विष्णुदेवी र बालकुमारी रथयात्रा हुने परम्परा छ । सातगाउँले जात्राका अवसरमा कीर्तिपुर नगरपालिका क्षेत्रभर भोलि सार्वजनिक बिदा दिएको छ । कीर्तिपुर नगरपालिकाको नगर कार्यपालिकाले आज बिदा दिएको छ ।

यस्तै सातगाउँले जात्रा हुने चन्द्रागिरि नगरपालिकाका विभिन्न वडाहरुमा पनि आज सार्वजनिक बिदा दिइएको छ । वडा नम्बर ८, ९, १०, ११, १३, १४ र १५ मा सार्वजनिक बिदा दिइएको नगरप्रवक्ता कृष्णप्रसाद खड्कीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर १० र ११ मा भने २७ बिदा हुने भएको छ ।