चीनमा भूकम्प : मृतकको संख्या ५३ पुग्यो

चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। भूकम्पमा ६२ जना घाइते भएको सिन्ह्वाले लेखेको छ। भूकम्पका कारण त्यहाँ ठूलो क्षति हुन सक्ने आशंका गरिएको छ।

यसैबीच राष्ट्रपति सी जिनपिङले भूकम्पपछि जीवन जोगाउन र क्षतिलाई न्यून गर्न सक्दो उद्धार प्रयास गर्न निर्देशन दिएका छन् ।

समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्व देशान्तरमा मापन गरिएको थियो । आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो । उक्त भूकम्पको धक्का नेपालको राजधानी काठमाडौँसहित उत्तर भारतमा समेत महसुस गरिएको थियो।