प्रतिनिधिसभामा तीन विधेयक प्रस्तुत

काठमाडौँ – प्रतिनिधिसभाको आइतबारको बैठकमा विभिन्न तीन विधेयक प्रस्तुत गरिएका छन्। बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१, नेपाल प्रहरी विधेयक, २०८१ र सशस्त्र प्रहरी बल नेपाल विधेयक, २०८१ प्रस्तुत गरेका हुन्।

विधेयक प्रस्तुत गर्दै उनले सहज रूपमा नागरिकता प्रदान र प्रक्रिया थप व्यवस्थित गर्न विधेयक ल्याउनुपरेको जानकारी गराए। गृहमन्त्री लेखकले गम्भीर रूपमा छलफल गरेर समयसाक्षेप बनाउन विधेयक ल्याउनुपरेको बताएका थिए।

मन्त्री लेखकले प्रहरीसम्बन्धी विधेयकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका काम कारबाही दोहोरिने गरी कुनै व्यवस्था नरहेको स्पष्ट पारे। उनले प्रहरीमा सेवा प्रवेशदेखि निवृत्तसम्मका प्रक्रियालाई थप व्यवस्थित गर्न विधेयक ल्याउनुपरेको स्पष्ट पारे।

यसअघि तीनै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरू प्रेम सुवाल, सुमना श्रेष्ठ र विनिता कठायतले राखेका विरोधका सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो।