ज्यापु संस्कृति विकास कोषको आयोजनामा २२ औं ज्यापु दिवस भब्य रुपमा मनाउन तयारीको क्रममा विकास कोषका अध्यक्ष मंगलकृष्णको सभापतित्वमा न्यत द्यःछेँ, नरदेवीमा यस वर्षको २२ औं राष्ट्रिय ज्यापु दिवस समारोह समितिको संयोजक चयन गर्ने कार्य गतः दिल्लाथ्वः तृतिया, शनिबार (असार १४ गते) सम्पन्न भएको छ ।
काठमाण्डौं महानगर पालिकाब्यापी ६३ त्वाः गुथिका अध्यक्ष, मूलगुरु र कजिहरुको उपस्थितिमा सरसल्लाह गरी यस कार्य गरिएको छ । यस वर्षको संयोजकत्व काठमाण्डौं महानगर पालिका ५ वडास्थित नरः देय् (हाडीगाउँ)का कोता त्वाः, दथुत्वाः र थतुत्वाःको संयुक्त संयोजनमा हुने भएको छ । उक्त कार्यक्रममा संयोजकत्व नरः कोता त्वाःका अध्यक्ष कृष्ण बहादुर महर्जनले जिम्मेवारी लिने घोषणा गर्नुभएको थियो ।
परम्परागत न्यत त्वाः खलःका अध्यक्ष एवं मूलधामी देवकृष्ण महर्जनले पानसमा बत्ती बाली कार्यक्रम सुभारम्भ गर्नुभएको थियो भने कार्यक्रममा विकास कोषका उपाध्यक्ष सन्त कुमार महर्जनले स्वागत मन्तब्य राख्नुभएको थियो ।
उक्त कार्यक्रममा परम्परागत वँतु त्वाः खलःका अध्यक्ष शान्तराज महर्जन, काठमाण्डौं महानगर पालिका ८ का वडाध्यक्ष तथा कामपा सम्पदा तथा पर्यटन समितिका अध्यक्ष एवं परम्परागत ग्वल त्वाःका अध्यक्ष आशामान संगत, ज्यापु दिवस संयोजक संयोजन समितिका संयोजक एवं विकास कोषका सल्लाहकार सन्तु महर्जन, संस्थापक संस्था नारायण परिवार क्लबका अध्यक्ष एवं विकास कोषका सल्लाहकार प्रचण्ड मान बज्राचार्य, संस्थापक संस्था ज्यापु महागुथि नेपाल केन्द्रीय कार्य समितिका प्रथम उपाध्यक्ष मचाराजा महर्जन र ज्यापु महागुथि नेपाल काठमाण्डौं महानगर समितिका अध्यक्ष पञ्च नारायण महर्जन लगायतले आआफ्ना मन्तब्य राख्नुभएको छ ।
विकास कोषका महासचिव रमेश महर्जनले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सभाध्यक्षका तर्फबाट मंगल कृष्ण सिंहले पनि आफ्नो मन्तब्य राख्नुभएको छ ।
