प्रचण्ड निवासमा आगजनीका साथै तोडफोड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा आगजनीका साथै तोडफोड गरेका छन्। ललितपुरको खुमलटारस्थित प्रचण्डको निवासमा प्रदर्शनकारीहरूले तोडफोडका साथै आगजनी गरेका छन्। सुरूमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन्।

प्रदर्शनकारीहरूले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिक मन्त्री पृथ्वी सुब्बा गुरूङको निवासमा आगजानीका साथै तोडफोड गरेका छन्।

ललितपुरका प्रहरी प्रवक्ता चक्रराज जोशीले प्रदर्शनकारीहरूले ललितपुरको सुनाकोठीस्थित मन्त्री गुरूङको निवासमा आन्दोलनकारीहरूले आगजनीका साथै तोडफोड गरेको अन्नपूर्णलाई जानकारी दिए। उनका अनुसार निवासमा लागेको आगो नियन्त्रणमा आइसकेको छ।

जेनजी पुस्ताको प्रदर्शनका क्रममा आन्दोलनकारीहरूले मन्त्री गुरूङको निवासमा ढुंगामुढा र आगजनी गरेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल राज बोहराका अनुसार प्रदर्शनकारीहरूले प्रयाजसो सबै स्थानमा प्रदर्शन गरिरहेको जानकारी दिएका छन्।

उनका अनुसार बालकोटस्थित नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निवास अगाडि पनि आन्दोलनकारीहरूले प्रदर्शन गरिरहेका छन्। यसैगरी बुढानिलकण्ठस्थित नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास नजिकै पनि प्रदर्शनकारीहरूले आन्दोलन गरिहेका छन्।