विभिन्न संघ संस्था तथा समूहको सहयोगमा तथा ने.सं. नव वर्ष राष्ट्रिय समारोह समिति ११४५ र ने.सं. नव वर्ष राष्ट्रिय संरक्षण समाजको आयोजनामा ने.सं. ११४५ यंलागाः औंशी, आइतबार (२०८२ असोज ५ गते) काठमाण्डौं खुसिबुँ स्थित नेपाः ब्यांक्वेटमा प्रा. सुवर्ण शाक्यलाई भब्य अभिनन्दन गरिएको छ । नव वर्ष राष्ट्रिय समारोह समितिका पहिलो अध्यक्ष शिक्षाविद्, बौद्ध विद्वान, साहित्यकार तथा समाजसेवी प्रा. सुवर्ण शाक्य अभिनन्दन समारोहमा मुख्य अतिथिका रुपमा नेवाः अग्रज साहित्यकार हितकर वीर सिंह कंसाकार उपस्थित हुनुभएको उक्त कार्यक्रमको सभापतित्व ने.सं. न्हूदँ राष्ट्रिय समारोह समिति ११४५ का अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले गर्नुभएको छ ।
कार्यक्रममा विशेष अतिथिको रुपमा नेवाः अग्रज नेपालभाषा एकेडेमिका चान्सलर मल्ले के. सुन्दर, ने.सं. नव वर्ष राष्ट्रिय संरक्षण समाजका अध्यक्ष प्रा. डा. नरेश मान बज्राचार्य उपस्थित हुनुभएका छन् भने अतिथिका रुपमा नव वर्ष राष्ट्रिय समारोह समितिका पूर्व अध्यक्षहरु डा. महेश मान श्रेष्ठ, डा. चुन्दा बज्राचार्य उपस्थित हुनुभएका छन् । त्यसै गरी, अन्य अतिथिहरुमा नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, काठमाण्डौं महानगर पालिका २३ वडाका वडाध्यक्ष मचाराजा महर्जन, जनबहाःद्यः रथजात्रा ब्यवस्थापन समितिका अध्यक्ष नीलकाजी शाक्य, इन्द्रजात्रा ब्यवस्थापन समितिका अध्यक्ष गौतम रत्न शाक्य, बागमती प्रदेशक पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, पूर्व मन्त्री कृष्णगोपाल श्रेष्ठ, वरिष्ठ महान्यायाधिवक्ता मुक्ति प्रधान, काठमाण्डौं महानगर पालिकाका पूर्व मेयर विद्या सुन्दर शाक्यका साथै अन्य विभिन्न ब्यक्तित्वहरुको उपस्थिति रहेका थिए ।
कार्यक्रममा बज्राचार्य गुरुजुहरुबाट बौद्ध मन्त्रोचारण प्रस्तुत गर्नुभएका र कार्यक्रमका सभापति नव वर्ष समारोह समिति ११४५ का अध्यक्ष राजेन्द्र श्रेष्ठले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा अभिनन्दित प्रा. सुवर्ण शाक्यले लेख्नु भएको बुद्ध भजन स्वयम्भू ज्ञानमाला भजन खलःबाट प्रस्तुत भएको थियो भने जनकवि दुर्गालाल श्रेष्ठले लेख्नु भएको कविता नारद बज्राचार्यले प्रस्तुत गर्नुभएको थियो ।
त्यसै गरी, लोककवि राजभाइ जकःमिले प्रा. सुवर्ण शाक्यको ब्वक्तित्वमा आधारित गीत संगीतकर्मी पवित्र कसाःले प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा गायिका निशा देशार र विपना शाक्यले प्रा. सुवर्ण शाक्यले लेख्नुभएको गीत गाउनुभएको थियो । कार्यक्रममा प्रा. सुवर्ण शाक्यले दबलि नाटक विधामा पुर्याउनु भएको योगदानका विविध विषयहरु शरद कसाःले प्रस्तुत गर्नुभएको थियो । प्रा. सुवर्ण शाक्यको अभिनन्दन समारोहमा मूल वक्ताको रुपमा उपस्थित हुनु भएका नेवाः अग्रज मल्ल के. सुन्दरले प्रा. शाक्यको ब्यक्तित्वलाई लिएर सारगर्भित रुपमा आफ्नो मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा प्रा. सुवर्ण शाक्यलाई मुख्य अतिथि हितकर वीर सिंह कंसाकारले दोसल्लाका साथमा प्रा. डा. नरेश मान बज्राचार्यले फेटा लगाई दिनुभएको थियो । अभिनन्दित प्रा. शाक्यलाई नेवार परम्परा अनुसार फुल सगुन अर्पण गरिएको र सभाध्यक्ष राजेन्द्र श्रेष्ठले अभिनन्दन पत्र अर्पण गर्नुभएको थियो । अभिनन्दन कार्यक्रममा उपस्थित हुनुभएका विभिन्न ब्यक्तित्वहरुले खादा र उपहार अपर्ण गर्ने कार्य पनि भएको उक्त कार्यक्रममा मुख्य अतिथि हितकर वीर सिंह कंसाकारले आफ्नो मन्तब्य राख्नुभएको थियो ।
त्यसै गरी, समारोहका मुख्य ब्यक्तित्व प्रा. सुवर्ण शाक्यले आफ्नो मन्तब्य राख्नुभएको र प्रा. डा . नरेश मान बज्राचार्यले धन्यवाद मन्तब्य राख्नुभई कार्यक्रमको समापन गर्नुभयो ।
