विभिन्न स्थानबाट लागूऔषधसहित २२ जना पक्राउ

काठमाडौँ । विभिन्न स्थानबाट लागूऔषधसहित २२ जना पक्राउ परेका छन् ।  सुनसरी, बाँके, बर्दिया, मोरङ लगायतका जिल्लाबाट २२ जना पक्राउ परेका हुन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाडागाउँबाट करिब ९८ किलोग्राम गाँजासहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीया कल्पना राई र भोजपुर रामप्रसाद गाउँपालिका–७ घर भएका २० वर्षीय मनोज राई रहेका छन् ।

अस्थायी प्रहरी चौकी तालतलैयाबाट खटिएको प्रहरीले कल्पनाको घरमा रहेको प्र.१–०२–००३ ह ९०५५ नम्बरको सिटी सफारीबाट ४९ वटा प्लाष्टिकको पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उता, बाँकेको नेपालगंज उपमहानगरपालिका–१० स्थित कृष्ण कटेजबाट ब्राउनसुगरजस्तो देखिने  ६१ ग्राम ४ सय ८० मिलिग्राम पदार्थसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–४ बस्ने २२ वर्षीय सहिल शेष र सोही उपमहानगरपालिका–२ बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यायल बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै बर्दियाको बढैयाताल गाउँपालिका–८ कन्ठपुरबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्रामसहित बाँसगढी नगरपालिका–९ माछागढ बस्ने २४ वर्षीय वसन्त बुढालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यता मोरङको रंगेली नगरपालिका–४ चोप्राहाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८० मिलिग्रामसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिका–५ भउसाबारी बस्ने २७ वर्षीय जिवन खड्का र रंगेली नगरपालिका–४ चोप्राह बस्ने १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी रंगेली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी मोरङको रंगेली नगरपालिका–६ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिका–५ बस्ने २२ वर्षीय सलिन गुरूङ र ४४ वर्षीय कपिल जिमि याखा रहेका छन् । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ सानोपोखराबाट ट्रामाडोल ८ हजार ३ सय ट्याब्लेटसहित ५ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय राजिव लामा, सोही उपमहानगरपालिका–१७ बस्ने २० वर्षीय प्रवेश बरैली, सोही उपमहानगरपालिका–४ बस्ने २० वर्षीय निशान कोइराला, सोही उपमहानगरपालिका–१५ बस्ने बकैया गाउँपालिका–१२ घर भएका १९ वर्षीय अशोक स्याङ्तान र मकवानपुरगढी गाउँपालिका–२ कुर्ले बस्ने २३ वर्षीय दिपेश संजेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।  साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ ।

उता महोत्तरीको औरही नगरपालिका–१ औरही चोकबाट गाँजाजस्तो देखिने पदार्थ करिब १० किलोग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार बेताली–५ पातेपुर बस्ने २७ वर्षीय गोबिन्द कुमार चमार र २१ वर्षीय एकवाल महोम्मद रहेका छन् ।

प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीले बर्दिबासबाट औरहीतर्फ आउँदै गरेको बिआर ३० ए ०६०८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका–१८ बाट अवैध लागूऔषध गाँजा २ किलो २ सय ग्रामसहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने जान मोहमद हुसेन, सोही उपमहानगरपालिका–१७ बस्ने २० वर्षीय सादाब हसिन, मोरङ केराबारी गाउँपालिका–८ बस्ने ३६ वर्षीय भुषण राई र सोही गाउँपालिका– १० बस्ने ३२ वर्षीय अनिस मगर रहेका छन् । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

त्यस्तै झापाको हल्दीबारी गाउँपालिका–५ बाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय देवीप्रसाद गुरूङ र १९ वर्षीय सौरभ गुरूङ रहेका छन् । प्रहरी चौकी जलथलबाट खटिएको प्रहरीले मे ७ प ५५४७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।