‘जेनजी’ वार्तामा नजाने, सिमरामा अश्रुग्यास र हवाईफायर

काठमाडौं । बाराको सिमरा बिहीबार (मंसिर ४) अपराह्न पुनः तनावग्रस्त भएको छ । स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि त्यसको उल्लंघन गर्दै ‘जेनजी’ सडकमा उत्रिएका छन् ।

दुई दिनको तनावपछि जेनजी प्रशासनसँग वार्तामा बस्न सहमत भएका थिए । तर, पछि उनीहरूले तत्काल वार्तामा नबस्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, आन्दोलनरत जेनजी सडकमै छन् । “सहमत भइसकेका जेनजी समूह वार्तामा नजाने भएका छन् । प्रहरीले ६ सेल अश्रुग्यास र दुई राउन्ड हवाईफायर गरेको छ,” बाराका एक प्रहरी अधिकारीले बाह्रखरीसित भने ।

विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । त्यसक्रममा पाँच प्रहरी घाइते भएका ती अधिकारीले बताए ।

यसअघि, बुधबार (मंसिर ३) नेकपा (एमाले)का कार्यकर्ता र जेनजीबीच सिमरामा झडप भएको थियो । जेनजीले सिमरा विमानस्थलको गेट समेत तोडफोड गरेका थिए ।

एमाले कार्यकर्ताले आफूहरूमाथि कुटपिट गरेको भन्दै जेनजीले बिहीबार पनि प्रदर्शन गरेका हुन् ।