कांग्रेसमा गगनको आधिकारिकता खोस्न माग गर्दै शेरबहादुर पक्ष सर्वोच्च पुग्यो

काठमाडौँ – विशेष महाधिवेशनलाई वैधता दिँदै गगन थापा पक्षलाई कांग्रेसको आधिकारिकता दिने निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षका नेताहरु सर्वोच्च अदालत पुगेका छन्।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित थापा र अरु पदाधिकारीलाई माघ २ गते वैधानिकता दिएको थियो। निर्वाचन आयोगले बहुमतका आधारमा विशेष महाधिवेशन र त्यसबाट निर्वाचित कार्यसमितिलाई आधिकारिकता दिएको थियो।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र अर्का आयुक्त शगुन शमशेर राणा वैधता दिने पक्षमा उभिए भने आयुक्त जानुका तुलाधरले फरक मत लेखेकी थिइन्।

उक्त निर्णय बदर गर्न माग गर्दै कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरु आइतबार अदालत खुल्ने वित्तिकै सर्वोच्च पुगेका हुन्। पूर्वसभापति देउवा पक्षमा रहँदै आएका कांग्रेसका नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि, एनपी साउद, रमेश लखेकसहितका नेताहरु सर्वोच्च गएका छन्।

शेखर कोइराला पक्ष भने विशेष महाधिवेशनको निर्णय बदर गर्न माग गर्ने निर्णयविरुद्ध सर्वाच्च नजाने भएको छ। कोइराला पक्ष शनिबार देउवा पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठक पनि अस्वीकार गरेको थियो।

मंगलबार (माघ ६) फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावका लागि उम्मेदवारी दर्ताको कार्यतालिका भए पनि कांग्रेस भने आधिकारिकता विवादको आन्तरिक झगडाम रुमालिएको छ। नेकपा, एमालेसहितका दलहरुले उम्मेदवार करिब टुंगो लागि सक्दा कांग्रेसमा भने अन्योलता कायमै छ।