काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीपञ्चमी (वसन्तपञ्चमी) का अवसरमा आज बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गरेका छन् ।
हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरे । राष्ट्रपति पौडेलले विद्याकी देवी सरस्वतीको पूजाआराधना गरेका थिए । नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो ।
समारोहमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोललगायतका विशिष्ट व्यक्तिको उपस्थिति थियो।
वसन्त पञ्चमीका अवसरमा विद्याकी देवी सरस्वतीको पूजाआराधना गरिने प्रचलन छ । यस अवसरमा वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास रहेको छ ।
