बाढी प्रभावितको उपचार र व्यवस्थापनमा काठमाडौँ महानगर सक्रिय

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित तथा घाइतेको उद्धार र उपचारमा सहयोग पुर्‍याउन काठमाडौँ महानगरपालिकाले आफ्नो विपद् व्यवस्थापन संयन्त्र सक्रिय बनाएको छ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले बाढी प्रभावित क्षेत्रमा आवश्यकताअनुसार तत्काल सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।

बैठकपछि महानगरपालिकाले सञ्चालन गरेका चारवटा एम्बुलेन्स नुवाकोटतर्फ पठाइएको छ। थप दुईवटा एम्बुलेन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा राखिएको महानगरले जनाएको छ। उद्धारका क्रममा हवाई माध्यमबाट काठमाडौँ ल्याइने घाइतेलाई तत्काल स्वास्थ्य संस्थासम्म पुर्‍याउन ती एम्बुलेन्स तयारी अवस्थामा राखिएको हो।

त्यस्तै महानगरअन्तर्गत कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार परिचालन गर्ने निर्णय गरिएको छ। बाढीबाट घाइते भएर उपचारका लागि ल्याइएका बिरामीलाई आवश्यक पर्ने औषधि तथा स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराउने व्यवस्था महानगरले मिलाउने भएको छ।

महानगरको आपतकालीन सञ्चालन केन्द्रमा मौज्दात रहेका विपद् व्यवस्थापनमा प्रयोग हुने सामग्री पनि प्रभावित क्षेत्रमा आवश्यकता पहिचान गरी उपलब्ध गराइने भएको छ। मौज्दात सामग्री तथा औषधि अपुग हुने अवस्था आए विपद् व्यवस्थापन कोषबाट खरिद गरेर उपलब्ध गराउने निर्णयसमेत बैठकले गरेको छ।

भोटेकोशी बाढीबाट रसुवाको टिमुरे, स्याफ्रुबेँसीसहित नुवाकोट, धादिङ, चितवन र गोरखालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। यस अवस्थामा उद्धार, उपचार, राहत तथा आवश्यक व्यवस्थापनका लागि सरकारी संयन्त्रबीच समन्वय आवश्यक रहेको महानगरले जनाएको छ।

यसैबीच बाढीबाट उद्धार गरिएका घाइतेलाई काठमाडौँ ल्याएर उपचार गर्ने क्रम जारी छ। त्रिभुवन शिक्षण अस्पतालमा मात्रै रसुवा बाढीबाट उद्धार गरिएका ३६ जना घाइतेको उपचार भइरहेको र तीमध्ये ६ जना आईसीयूमा रहेको अस्पतालले जनाएको छ।

महानगरपालिकाले विपद्को यस कठिन समयमा उपलब्ध स्रोत–साधनलाई प्रभावकारी रूपमा परिचालन गर्दै उद्धार, उपचार र राहत व्यवस्थापनमा आवश्यक सहयोग जारी राख्ने जनाएको छ।