चाँगुनारायणमा भेटियो एक सय ६७ वर्ष पुरानो शिलालेख

भक्तपुर – चाँगुनारायण नगरपालिका ७ बागेश्वरीको पगरी टोलमा एक सय ६७ वर्ष पुरानो शिलालेख फेला परेको छ । सडक स्तरोन्नतिका लागि स्थानीय जनक लामिछानेको जग्गा सम्याउने क्रममा बाँसको झ्याङमुनि कोलसहितको शिलालेख फेला परेको हो ।

करिब सात फिट लम्बाइको शिलालेखको ढुङ्गा प्राचीन ढुङ्गे कोल भएको स्थानीय हरिसुन्दर छुंकाले बताउनु भयो । सो स्थानमा कोलमा राखिने गोलो ढुङ्गासमेत फेला परेको छ । उक्त ढुङ्गा तीन किलोभन्दा बढी रहेको छुंकाले जानकारी दिनु भयो ।

नगर प्रमुख जीवन खत्रीका अनुसार पगरी टोलमा फेला परेको शिलालेख, गोलो ढुङ्गाका साथै ऐतिहासिक चट्टान अभिलेख र चित्रको अध्ययन अनुसन्धान गरी संरक्षण गरिनेछ ।