काठमाडौं, भुटानको राजधानी थिम्पुमा जुन ३० देखि जुलाई ४ सम्म आयोजित १६औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपालका आकाश श्रेष्ठले ऐतिहासिक सफलता हासिल गर्दै पुरुष स्पोर्ट्स फिजिक (१७० सेन्टिमिटरमुनि) विधामा स्वर्ण पदक जितेका छन्।
आकाशको स्वर्णसँगै प्रतियोगिताको अन्तर्राष्ट्रिय मञ्चमा नेपालको राष्ट्रिय गान गुन्जिएको छ। उनको उत्कृष्ट प्रदर्शनले नेपाललाई गौरवान्वित बनाएको छ भने दक्षिण एसियाली शारीरिक सुगठनमा नेपालको उपस्थितिलाई थप सशक्त बनाएको छ।
यो उपलब्धि आकाशको पछिल्लो समयको अर्को महत्वपूर्ण सफलता पनि हो। यसअघि उनले १७औँ धर्मश्रीको उपाधि जितेका थिए भने दोस्रो मिस्टर महानगर प्रतियोगितामा पनि प्रथम स्थान हासिल गरेका थिए। निरन्तरको मेहनत, अनुशासन र समर्पणका कारण उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि स्वर्ण जित्दै आफ्नो क्षमता प्रमाणित गरेका छन्।
यसै प्रतियोगितामा नेपालले स्वर्णसहित कुल तीन पदक जित्न सफल भएको छ। महिला एथलेटिक फिजिकतर्फ सीता खत्रीले रजत पदक जितिन् भने पुरुष स्पोर्ट्स फिजिक (१७० सेन्टिमिटरमाथि) विधामा पुकार शाक्यले कांस्य पदक हात पारे। महासंघका अनुसार तीनै खेलाडीको यो ‘डब्ल्यू’ अन्तर्राष्ट्रिय प्रतियोगिता थियो।
नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका सचिव दिनेशकुमार राजभण्डारीका अनुसार यस प्रतियोगितासँगै दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा नेपालको कुल पदक संख्या १३ स्वर्ण, १७ रजत र २० कांस्य पुगेको छ। नेपाल पहिलो संस्करणदेखि नै यस प्रतियोगितामा नियमित सहभागी हुँदै आएको छ भने यसअघि तीन संस्करणको आयोजना नेपालमै गरिएको थियो।
आकाश श्रेष्ठको स्वर्ण विजयले नेपाली खेलकुदमा नयाँ उत्साह थपेको छ। उनको अथक परिश्रम, अनुशासन र समर्पणले नेपालको गौरवलाई अझ उँचो बनाएको छ। आगामी दिनमा पनि यस्तै उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम अझ उज्ज्वल बनाउने विश्वास व्यक्त गरिएको छ।
