गैर आवासीय नेपाली सङ्घ अमेरिकाको कार्यालय भवनको उद्घाटन

गैर आवासीय नेपाली सङ्घ अमेरिकाले भर्जिनियामा रहेको आफ्नै केन्द्रीय कार्यालयबाट औपचारिक रूपमा काम सुरु गरेको छ । एनआरएनए अमेरिकाको केन्द्रीय कार्यालय भवनको नेपाली चिकित्सा क्षेत्रमा ख्याति कमाएका प्रा डा भगवान् कोइरालाले विशेष समारोहबिच मे २८ तारिख आइतबार उद्घाटन गर्नु भएको हो। उद्घाटनसँगै एनआरएनए अमेरिकाले आफ्नै कार्यालय भवनबाट काम सुरु गरेको हो।

एउटा बैठक कक्ष र पाँच वटा कोठा भएको कार्यालय भवन दुई लाख ८८ हजार डलर नगद लागतमा खरिद गरेको हो ।

भवनको उद्घाटन गर्दै प्रा. डा. कोइरालाले आफ्नो महत्त्वलाई अझ बढाउँदै अमेरिका र नेपालमा गैर आवासीय नेपाली सङ्घ अमेरिकाले प्रभावकारी ढङ्गले काम गर्न सकोस् भन्ने शुभकामना दिनु भयो । नेपालमा आफूहरूले अगाडि बढाइरहेको सामाजिक काममा पनि एनआरएनए अमेरिकाबाट सहयोग पुग्ने अपेक्षा गर्नु भयो।

एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुबेदीले उद्घाटन समारोहलाई संवोधन गर्दै झोलाबाट संस्था चलाउनु पर्ने विवशताबाट बाहिर निकालेर संस्थाको स्थायी ठेगाना दिन कार्यालय भवन खरिदमा आफ्नो नेतृत्वको कार्यसमिति सफल भएकोमा खुसी व्यक्त गर्नु भयो । भवन खरिद प्रक्रियामा सहभागी, सहयोगी र सम्पूर्ण दाताहरूलाई धन्यवाद दिनु भएको छ । अफिस कन्डोमेनियम खरिदको परिवेश र अवस्थालाई प्रस्ट्याउँदै अध्यक्ष सुबेदीले भन्नु भयो “हामीले मिलियन डलरको कार्यालय भवन खरिद गर्न सक्ने थियौँ । तर हामीले किन ठुलो सपना देखेनौँ भने भोलि ब्याज तिर्न सकिएन, मोड्गेज तिर्न सकिएन । संस्था चल्न सकेन भन्ने अवस्था नआयोस् भनेर पुरै पैसा तिरेर अफिस कन्डोमेनियम खरिद गरेका हौँ । अफिस सञ्चालनका लागि चाहिने कोठा बाहेक अरू कोठा भाडामा लगाएर कार्यालय सञ्चालनका लागि समेत आर्थिक सहयोग पु¥याउने अवस्था छ । यो हामी सबैले गर्व गर्ने क्षण हो ।”

कार्यक्रमका विशेष अतिथि त्रिभुवन विश्व विद्यालयका पूर्व उपकुलपति प्रा. डा. रमेशकान्त अधिकारीले गैर आवासीय नेपाली सङ्घ अमेरिकाको एउटा सफलता र खुसीको क्षणमा सहभागी हुन पाएको बताउनु भयो । उहाँले आफूहरूले नेपाल भित्र गरिरहेका परोपकारी र सामाजिक काममा गैर आवासीय नेपाली सङ्घ अमेरिकासँग सहकार्य हुने विश्वास समेत व्यक्त गर्नु भयो ।

गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् आइसीसीकी अध्यक्ष रबिना थापाले विशेष अतिथिको रूपमा कार्यालय भवन उद्घाटन समारोहलाई संवोधन गर्दै ड्रिम अफिस बिल्डिङ खरिद गर्न सकेकोमा एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुबेदी, वरिष्ठ उपाध्यक्ष तथा अफिस भवन खरिद आर्थिक समितिका संयोजक कृष्णजिवी पन्त, कोषाधक्ष्य तथा भवन खरिद आर्थिक समितिका सह- संयोजक राजीब श्रेष्ठ लगायत कार्यसमितिलाई बधाई र शुभकामना दिनु भयो । एनआरएनए अमेरिका रोल मोडल भएको उल्लेख गर्दै आइसीसीकी अध्यक्ष रबिना थापाले विश्वका अरू एनसीसीहरुलाई पनि यसै गरी व्यवस्थित र संस्थागत गर्न आफ्नै कार्यालय भवन खरिदमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नु भयो ।

गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् आइसीसीका महासचिव तथा एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष डाक्टर केशव पौडेलले विशेष अतिथिको रूपमा भवन उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुबेदी लगायत कार्यसमितिलाई आफ्नै कार्यालय भवन खरिदमा सफलता मिलेकोमा बधाई र शुभकामना दिनु भयो । आइसीसीका महासचिव तथा एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष डा केशव पौडेलले संस्थागत विकासमा आफ्नै कार्यालय भवन महत्त्वपूर्ण भएको धारणा राख्नु भयो ।

विशेष अतिथिको रूपमा आइसीसी सचिव राजन त्रिपाठी र एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक खगेन्द्र जी सीले कार्यालय भवन खरिद अभियानमा सफलता हासिल गरेकोमा एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदी र कार्यसमितिलाई बधाई र शुभकामना दिनु भयो।कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ अमेरिकाका संरक्षक, सल्लाहकार, अनअरी काउन्सिल मेम्बर, कार्यसमितिका पदाधिकारी र सदस्य, च्याप्टर सभापति, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, स्थानीय नेपाली समुदायका व्यक्तिहरू सहभागी हुनु भएको थियो ।

दाताहरूलाई सम्मान

उद्घाटन र सम्मान समारोह गरी कार्यक्रमलाई दुई भागमा बाँडिएको थियो । आइतबार बिहान कार्यालय भवनको औपचारिक उद्घाटन पश्चात् आइतबार दिउसो गैर आवासीय नेपाली सङ्घ अमेरिकाको भवन खरिद अभियानमा सहयोग गर्ने दाताहरूलाई ताम्र पत्र र प्रशंसा पत्रले सम्मानित गरिएको छ। गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् आइसीसीकी अध्यक्ष रबिना थापाको प्रमुख आतिथ्यतामा सम्मान समारोह आयोजना गरिएको हो । गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् आइसीसीकी अध्यक्ष रबिना थापा , महासचिव डा केशव पौडेल, गैर आवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष बुद्धि सागर सुबेदीले भवन खरिदका लागि महत्त्वपूर्ण सहयोग गर्ने दाताहरूलाई ताम्र पत्र र प्रशंसा पत्र प्रदान गर्नु भयो ।साथै भवन खरिद गर्नको लागि सबै भन्दा धेरै रकम संकलन गर्ने क्यालिफोर्निया च्याप्टर लागएत च्याप्टरका अध्यक्ष एक देव शर्मा र वेस्ट कोस्ट रिजनका रिजनल कमिटि च्यर श्री राम थापा लाई पनि सम्मान गरिएको थियो।सम्मान समारोहमा अथितिको रुपमा पाल्नु भएका विश्व साईकल यात्री अजित बरालले साईकल यात्राकै दौरान नेपाल र नेपालीको पहिचान लाई विश्व सामु चिनाउनको लागि उहाँले गर्नुभएको महत्वपूर्ण योगदानको कदर गर्दै उहाँलाई विशेष सम्मान पनि प्रदान गरिएको थियो । सम्मान समारोहमा सरिक हुन नसक्नु भएका दाताहरूको ताम्र पत्र र प्रशंसा पत्र केन्द्रीय कार्यालय भर्जिनियामा राखिएको छ ।