काठमाडौं – शेयर बजारका लगानीकर्ताहरूले सबै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका छन् । सबै ब्रोकर कार्यालयमा तालाबन्टी गरेसँगै शेयर कारोबार प्रभावित भएको छ ।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमा सेयर कारोबार गर्दा थप कर लगाएको भन्दै लगानीकर्ता आन्दोलित बनेका हुन् । आर्थिक विधेयकमार्फत सरकारले व्यावसायिक सेयर कारोबारसरह नै कर तिर्नुपर्ने जनाएपछि लगानीकर्ता केही दिनदेखि आन्दोलित छन् ।
लगानीकर्ताले विद्यमान पुँजीगत लाभकर दीर्घकालीन ५ र अल्पकालीन ७ दशमलव ५ प्रतिशत नै अन्तिम कायम गर्नुपर्ने अडान लिएका छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले भने बुधबार नै सेयर कारोबारमा कुनै प्रकारको कर नलगाएको प्रस्टीकरण दिनु भएको थियो । तर पनि लगानीकर्ता करको विषयलाई लिएर आक्रोशित छन् ।
हाल तिर्दै आएको पुँजीगत लाभकर अन्तिम कर हो वा होइन भन्नेमा लगानीकर्ता दुबिधामा छन् । पुँजीगत लाभकरलाई नै अन्तिम कर नमानेसम्म आफूहरूको आन्दोलन नरोकिने उनीहरूको भनाइ छ ।
