आठ महिनापछि मैदान फर्किँदै नेयमार

ब्राजिलका समर्थकको लामो प्रतीक्षाको अन्त्य अब विश्वकपकै मञ्चमा हुने भएको छ। करिब दुई वर्ष आठ महिनापछि ब्राजिलको प्रतिष्ठित नम्बर १० जर्सी लगाएर नेयमार जुनियर पुनः मैदानमा उत्रिन तयार छन्।

प्रशिक्षक कार्लो एर्न्सेलोट्टीले समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध नेयमार टोलीमा रहने पुष्टि गरेका छन्। मियामीमा ब्राजिलले समूह चरणको निर्णायक खेलमा स्कटल्यान्डको सामना गर्नेछ। नकआउट चरणमा पुग्ने सम्भावना कायम राख्न यो खेल ब्राजिलका लागि अत्यन्त महत्त्वपूर्ण छ।

खेलअघिको पत्रकार सम्मेलनमा नेयमारको फिटनेसबारे बोल्दै एर्न्सेलोट्टी निकै उत्साहित देखिएका थिए। उनले भने,‘नेयमार पूर्ण रूपमा खेल्न तयार छन्। उनले यो साताभरि टोलीसँग उत्कृष्ट प्रशिक्षण गरेका छन् र आफूलाई राम्रोसँग तयार पारेका छन्। उनको स्तरको खेलाडी टोलीमा फर्कनु हाम्रो लागि ठूलो राहतको विषय हो।’

नेयमार सुरुदेखि नै मैदानमा उत्रिनेछन् कि छैनन् भन्ने प्रश्नमा एर्न्सेलोट्टीले हास्य शैलीमा जवाफ दिए। उनले भने,‘यदि म आफ्नै उमेरमा ९० मिनेट हिँड्न सक्छु भने नेयमारले त सजिलै ९० मिनेट दौडेर खेल्न सक्छन्। उनी पूर्ण रूपमा ठीक छन्। यदि मैदानमा नउत्रिए पनि उनको उपस्थिति र अनुभवले टोलीका युवा खेलाडीहरूलाई ठूलो आत्मविश्वास दिनेछ।’

नेयमारले अन्तिमपटक १७ अक्टोबर २०२३ मा उरुग्वेविरुद्धको विश्वकप छनोट खेलमा ब्राजिलको जर्सी लगाएका थिए। मोन्टेभिडियोमा भएको उक्त खेलमा ब्राजिल २–० ले पराजित भएको थियो। खेलको पहिलो हाफमै बायाँ घुँडामा गम्भीर चोट लागेपछि नेयमार स्ट्रेचरमार्फत मैदानबाट बाहिरिएका थिए।

त्यसयता करिब ९८० दिन बितिसकेको छ। चोटका कारण लामो समय राष्ट्रिय टोलीबाट बाहिर रहेका ३४ वर्षीय फरवार्डका लागि यो सम्भवतः अन्तिम विश्वकप पनि हुन सक्छ। त्यसैले उनको पुनरागमनले ब्राजिलको क्याम्पमा उत्साहको माहोल सिर्जना गरेको छ।

ब्राजिलले पहिलो खेलमा मोरक्कोसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा हाइटीलाई ३–० ले हराएर नकआउट चरणको सम्भावना बलियो बनाएको छ। यता समर्थकहरूले युवा स्टार एन्ड्रिकलाई पनि मैदानमा देख्न चाहेका छन्।

यसबारे एर्न्सेलोट्टीले रमाइलो शैलीमा प्रतिक्रिया दिँदै भने,‘मलाई थाहा छ समर्थकहरू एन्ड्रिकका लागि निकै उत्साहित छन्। तर‚ भोलिको टोलीमा नेयमार पनि हुनेछन्। त्यसैले समर्थकहरू कसका लागि बढी चिच्याउने भन्ने अन्योलमा पर्न सक्छन्। तर‚ मेरो विश्वास छ, उनीहरूले दुवैलाई समान रूपमा माया गर्नेछन्।’