काठमाण्डौ – कतारको रास लफान औद्योगिक क्षेत्र बार्जान ग्यास आपूर्ति केन्द्रमा भएको विष्फोटमा १३ जनाको ज्यान गएको छ । ६६ जना घाइते भएका छन् । दुर्घटनामा भारतीय १२ जनाले ज्यान गुमाएका बीबीसीले जनाएको छ । एक जना पाकिस्तानका नागरिक रहेका छन् ।
केन्द्रमा आइतबार राति विष्फोट हुँदा आगलागी भएको थियो । रास लफान क्षेत्रमा नेपाली, भारतीय, बङ्गलादेशी, केन्या, घानालगायत देशका श्रमिकले काम गर्दै आइरहेका छन् । केही नेपाली पनि घाइते भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । थप विवरण खुल्न सकेको छैन । कतारका ऊर्जामन्त्री साद शेरिदा अल–काबीले विस्फोटले देशको निर्यातमा कुनै असर नगर्ने बताउनुभएको छ । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरिएको छ ।
