काठमाडौँ,२१ फागुन । आधिकारिक कागजात नभएको भन्दै अमेरिकाले फर्काएका आठ जना नेपाली नागरिकलाई प्रहरीको जिम्मा लगाइएको छ। उनीहरूलाई थप सोधपुछ र अनुसन्धानका लागि प्रहरीको जिम्मा दिइएको हो।
अमेरिकाबाट चार्टर्ड विमानमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका उनीहरूको अध्यागमन प्रक्रिया पूरा गरेपछि प्रहरीलाई बुझाइएको विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएको छ।
अध्यागमन कार्यालयका अधिकृत यज्ञराज अर्यालका अनुसार, आजै कतार एयरवेजको नियमित उडानबाट थप एक जना नेपालीलाई पनि अमेरिकाबाट ‘डिपोर्ट’ गरिएको छ। यसअघि पनि २७ जना नेपाली नागरिक अमेरिकाबाट डिपोर्ट भएर नेपाल फर्किसकेका छन्।
अर्यालले भने, “हामीले अध्यागमन प्रक्रिया पूरा गरेर उहाँहरूलाई पठायौँ। चार्टर्ड विमानबाट आउनुभएका आठ जनाका सम्बन्धमा नेपाल प्रहरीले थप अनुसन्धान गर्नेछ।” अमेरिकाले अवैध रूपमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई फर्काउने क्रम जारी राखेको छ।
