अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्धको सूचीमा रेडिट पनि थपियो

क्यानबेरा । अस्ट्रेलियामा आगामी महिनादेखि १६ वर्ष भन्दा कम उमेरका बालबालिकामाझ सामाजिक सञ्जाल चलाउन  सुरु हुँदै छ ।

फेसबुक, एक्स, स्न्यापच्याट, टिकटक, यट्यूब, इन्ष्टाग्रामलगायत आठ सामाजिक सञ्जाल यो प्रतिबन्धको सूचीमा थिए । अब भने रेडिटलाई पनि प्रतिबन्धित सामाजिक सञ्जालको सूचिमा थपिएको छ ।

डिसेम्बर १० देखि १६ वर्षभन्दा कम उमेरका बालबालिकाको विद्यमान सामाजिक सञ्जाल खाता निष्क्रिय बनाउन सो कदम नचालेमा प्रविधि कम्पनीहरूले ३ करोड ३५ लाख डलरसम्मको जरिवाना तिर्नु पर्ने हुन सक्नेछ । सरकारले यो सूचीमा विस्तारै अरू साइटहरूको नाम थप्ने बताइरहेको छ ।

बालबालिकाहरूलाई सामाजिक सञ्जालका खाताहरूमा ढिलो पहुँच दिँदा उनीहरूले शक्तिशाली, अदृश्य र अपारदर्शी एल्गोरिदम र अन्तहीन स्क्रोल जस्ता हानिकारक र भ्रामक शक्तिहरूबाट मुक्त भएर सिक्न र हुर्कन बहुमूल्य समय पाउने अस्ट्रेलियाकी ईसेफ्टी कमिश्नर जूली इनम्यान ग्रान्टले बताएकी छिन् ।

प्रतिबन्धको सूचीमा डिस्कर्ड र व्हाट्सएप र लेगो प्ले, रोब्लोक्सजस्ता गेमिङ प्लेटफर्महरूलाई राखिने छैन । गुगल क्लासरूम र युट्युब किड्स पनि प्रतिबन्धमा पर्ने छैन । अनलाइन प्लेटफर्महरूले बालबालिकाहरूलाई लक्षित गर्न सक्ने भएकोले उनीहरूको सुरक्षाकै लागि यो प्रतिबन्ध ल्याइएको सङ्घीय सञ्चार मन्त्री अनिका वेल्सले भनिन् ।

कम्पनीहरूले यो प्रतिबन्ध कसरी लागू गर्नेछन् भन्ने स्पष्ट छैन । तर आलोचकहरूले डेटा गोपनीयता र उमेर प्रमाणीकरण सफ्टवेयरको शुद्धतामा चिन्ता व्यक्त गरेका छन्, हालैको रिपोर्टले प्रस्तावित विधिहरूमा जोखिम वा कमजोरीहरू छन् भनेर देखाएको थियो ।