काठमाण्डौ – बालबालिकामा हुने क्यान्सर विरुद्धको औषधीको पहुँचका लागि सम्झौता गरिएको छ।
बुधबार स्वास्थ्य मन्त्रालयमा मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति भएको हो।
सम्झौता पत्रमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र डब्लुएचओ नेपालका प्रमुख डा राजेश संभाजीराव पाण्डवले हस्ताक्षर गर्नु भयो।
सो अवसरमा सवास्थ्य सचिव पोखरेलले नेपालमा क्यान्सरबाट पीडित बालबालिकाको उपचारमा सुधार ल्याउन समझदारीले ठूलो मद्दत गर्ने बताउनु भयो। उहाँले बालबालिकामा हुने क्यान्सर विरुद्धको औषधी चारवटा सरकारी अस्पतालमा उपलब्ध गराइने र अन्य अस्पतालमा पनि विस्तार गरिने बताउनु भयो।
सम्झौता अनुसार नेपालले बालबालिकामा हुने क्यान्सरका ३५ प्रकारका औषधि निःशुल्क प्राप्त गर्नेछ। समझदारीअनुसार नेपालले आगामी चार वर्षसम्म क्यान्सरको निःशुल्क औषधि पाउने मन्त्रालयले जनाएको छ।
हाल भक्तपुर क्यान्सर अस्पताल, विपी कोइराला क्यान्सर अस्पताल भरतपुर, कान्ति बाल अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्ने बालबालिकाले निःशुल्क क्यान्सरको औषधि प्राप्त गर्ने बताइएको छ।
