मनोहर श्रेष्ठ वर्ल्ड नेवाः अर्गनाइजेशनको अध्यक्षमा निर्वाचित,दुबईमा हुने अधिवेशनबाट विधिवत घोषणा हुने

विश्वभरका नेवा :हरुको संस्था वर्ल्ड नेवाः अर्गनाइजेशनले नयाँ अध्यक्षको रुपमा मनोहर श्रेष्ठलाई पाएको छ। नेवाः अर्गनाइजेशनको पाँचौं अधिवेशन आगामी ने.सं. ११४५ गुंलागाः सप्तमि, शुक्रबार (अगष्ट १५) देखि गुंलागाः नःमि,देखि आइतबार (अगष्ट १७) सम्म यूएइको दुबइ शहरमा हुदैछ ।

श्रेष्ठ अमेरिकामा रहेको नेवारहरुको संस्था ‘नेपा: पासा पुचः अमेरिकाय्’को बर्तमान अध्यक्षमा रहि नेवा: समुदायको लागि काम गर्दै हुनुहुन्छ ।

यस अघि अध्यक्ष पदको लागि वर्तमान अध्यक्ष संयुक्त श्रेष्ठले समेत उम्मेदवारी दिनुभएको र वहाँले पछि उम्मेदवारी फिर्ता लिए संगै मनोहर श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको हो । वहाँ यस अर्गनाइजेशनको चौथो अध्यक्ष हुनुभएको हो । वहाँ काठमाण्डौंको ढोकाटोलको मूल निवासी हुनुहुन्छ ।

यस्तै अर्गनाइजेशनको नव निर्वाचित कार्य समितिको वरिष्ठ उपाध्यक्ष पदमा अमेरिकामा रहनु भएका समीर महर्जन निर्वाचित हुनुभएको छ । यस्तै गरी उपाध्यक्षमा क्यानडाका विमल मान श्रेष्ठ, यूएइका वीरेन्द्र कुमार नकःमि, अमेरिकाका समन्तश्री रत्न वज्राचार्य र नेपालका सुरेन्द्र भक्त श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

यस्तै गरी महासचिव पदमा नेपालका लालिमा (लुमु) श्रेष्ठ, कोषाध्यक्ष पदमा अमेरिकाका दीपक डंगोल र जनसम्पर्क अधिकारीमा नरेश शाक्य निर्वाचित हुनुभएको छ ।

साथै, सदस्यहरुमा अमेरिकाका अनिल रञ्जित, नेपालका अञ्जना ताम्राकार, अमेरिकाका दीपेश शाक्य, जर्मनीका कुमार नापित, अमेरिकाका कुमार सिन्दुराकार, संजय शाक्य र शैलेन्द्र मानन्धर निर्वाचित हुनुभएका छन् ।

निर्वाचनका निमित्त शशी महाजु, राम श्रेष्ठ र सिल्भिया राजोपाध्याय सम्मिलित निर्वाचन समिति गठन गर्दै उक्त समितिबाट नै उक्त निर्वाचन सम्पन्न भएको छ । निर्वाचनको क्रममा बेल्जियमका रजनी प्रधानले पनि वरिष्ठ उपाध्यक्ष पदमा मनोनयन दर्ता गराउनु भएको र पछि मनोनयन फिर्ता लिनुभएकोले सबै पदाधिकारीहरु निर्विरोध निर्वाचित हुन सफल भएका हुन् ।

दुबइमा हुने अधिवेशनमा नयाँ अध्यक्ष सहित नयाँ कार्यसमितिको विधिवत घोषणा हुने भएको छ । यसै अधिवेशमा नै वर्तमान अध्यक्ष संयुक्त श्रेष्ठलाई विदाई समेत गरिने भएको छ ।