भक्तपुरको भैरबनाथ बिस्काजात्रा एक किम्वदन्ति

कुरा उहिले उहिले धेरै बर्ष अघिको हो । भक्तपुरमा मेष संक्रान्तिको एकदिन अघि संसारमा कहिं नभएको अद्भुत जात्रा यःसिं ठड्याई बिश्वध्वजा(हलिंपतः) फहर्‍याउने जात्रा (विश्वकेतु)बिस्काजात्रा हुन्छ भन्ने खवर पाइ काशीका श्री भैरबनाथ स्वयं मनुष्यरुप लिई यस्तो अद्भुत जात्रा हेर्नको निम्ती भक्तपुरको यःसिंख्यःमा आइपुगे । सो दिन जात्रामा एकै रुखको अजङ्गको लामो काठको यःसिंलाई अष्टमातृकाको प्रतीक स्वरुप आठवटा मोटा मोटा डोरीहरुले बाँधी आठकुनावाट असंख्य मानिसहरुले जोसिंदै होस्ते…! हैंस्से…! होस्ते…..! हैंस्से….! गर्दै तानि उभ्याउँदै थियो । यःसिंख्यःमा जात्राको कार्यक्रम धुमधाम संग अगाडि वढिरहेको थियो ।

जात्रा हेर्ने जात्रालुहरुको भिड पनि बाक्लै थियो त्यो ठाउँमा । श्री भैरवनाथ मनुष्यरुपमा जात्रा हेर्न मै मग्न थिए । त्यहि जात्रालुको भिडमा एक जना तान्त्रिक पनि थिए जो श्री भैरवनाथलाई अघिदेखि नै पछ्याई रहेको थियो । सो तान्त्रिकले भैरबनाथलाइ पछ्याउनुको खास कारण के थियो भनेदेखि यी नौलो मानिस (श्री भैरवनाथ) जात्राको हुलमा अन्य आम मानिस भन्दा अग्लो थियो । उस्को टाउको उस्को अग्लाइको कारण हुलमा अरुको भन्दा माथि उठेको थियो । यस्ले गर्दा परैवाट उस्लाइ मजाले देख्न सकिन्थ्यो । उस्मा एक किसिमको छुट्टै आकर्षण पनि थियो । को रहेछ त यो आकर्षक ब्यक्तित्व ? भनि कौतुहलतावश तान्त्रिकले उस्लाई पछ्याउँदै आफ्नो तन्त्रबलले नियाली हेरेछ । नियाली हेर्दा सो ब्यक्तित्व अरु कोहि नभएर काशिको श्री भैरवनाथ स्वयं मनुष्य रुप लिई जात्रा हेर्न पाल्नु भएको भन्ने उस्ले भेउ पाएछ ।

भगवान स्वयं आफ्नो सामु उपस्थित भइरहेको देखी उ खुशिले गड्गड् भएछ र मनमनै प्रणाम पनि गरेछ । जात्रा हेर्न पाल्नु भएको श्री भैरवनाथलाइ सदा यहिं नै राख्न पाए त एकदमै राम्रो हुन्छ भन्ने मनसायले भैरवनाथलाई आफ्नो तन्त्रबलले वाध्न वहाँलाई पछ्याउन थालेछ । तान्त्रिकले पछ्याउँदा पछ्याउँदै नै उहाँले चाल नपाउने गरी तारण (तान्त्रिक बन्धन) राख्न खोजेछ । जात्रा हेर्नमा नै मग्न रहेका श्री भैबनाथमा तारणको हल्का असर लाग्न थालेछ । कसैले आफुलाई बन्धनमा राख्न खोजेको तारण राख्न थालेको भान भए पछि” अब यहाँ बसिरहनु उपयुक्त हुँदैन” भन्थानी वहाँ छिटो छिटो दगुरी जात्रा स्थल यःसिंख्यःवाट बाहिर जानु भएछ। तान्त्रिक पनि श्री भैरबनाथलाइ पछ्याउँदै आफ्नो तन्त्रबलले अझ बलियो संग बाध्न कोशिस गर्दै गए । यसरी भाग्दा भाग्दै दुबै तौमढि टोलमा पुगेछ ।

आफुमा तान्त्रिकको प्रभाव ज्यादै नै हुनथालेको अनुभव पाइ अब छिटो छिटो दगुरी मात्र नहुने भो तत्काल जमिनमुनि वाटै पाटाल मार्ग वाट भागी सुइकुच्चा ठोक्नु पर्ने अवस्था आयो भन्ने मनशाय लिइ श्री भैरबनाथ त्यहिं जमीनमा नै भास्सिन थाल्नुभएछ । यस्तो दृष्य देखि तान्त्रिकले आफनो तान्त्रिक बलको भरपुर प्रयोग गरी श्री भैरबनाथलाई जसरी भए पनि समात्न खोज्न आफुमा भएजतिको उपाए लगाउन थालेछ र सोहि अनुसार गरेछ पनि । त्यस बेला तान्त्रिक जसरी’नि समाउन खोज्ने, श्री भैरबनाथ जसरी’नि जमिन मै धस्सीएर भएपनि भाग्न खोज्ने, अवस्था आएछ त्यहाँ । श्री भैरबनाथ पाटाललोकबात भाग्ने क्रममा वहाँको पाउ, जाँघ, पेट, छाति गर्दै क्रमशः जमीनमा धसिंदै थियो र अन्त्यमा टाउको मात्र जमिनमा रहन गएछ । टाउको मात्र जमिनमा देखि सकेपछि, कुनै उपाएले पनि नभए पछि, हठात् तान्त्रिक नजिकको हसिँयाले टाउको अड्काउन खोज्दछ र जस्को फलस्वरुप तान्त्रिकको हातमा श्री भैरबनाथको टाउको मात्र पर्दछ भने त्यो भन्दा तलको भाग जमिन मुनिबाटै भाग्न सफल हुँदछ । यस्प्रकार उस्को हातमा श्री भैरबनाथको शिरमात्र रहन्छ ।

यहि श्री भैरबनाथको शिर नै यहाँ (तौमढि स्थित न्यातापोल मन्दिर नजिक अवस्थित तिन तल्ले भैरवनाथको प्यागोडा शैलिको मन्दिरमा) बिराजमान गराई स्थापना गरी राखिएको छ र यहि बिस्का जात्रा बेला भैरबनाथको रथ पनि तान्ने गरीन्छ । जात्राको दौरान रथलाई तौमढि वाट यःसिं ख्यःमा लगी विश्व ध्वज(हलिं पतः) फहर्‍याएको देखाई फेरी तौमढिमा नै फर्काइने गरीन्छ । भनिन्छ, काशी स्थित श्री बिश्वनाथको शिर श्री भैरबनाथको रुपमा नेपालमा, घाँटिवाट तलको भाग पेट, बक्षस्थल इत्यादि बनारसको काशीमा श्री बिश्वनाथको रुपमा छन् भने दक्षिण भारतको त्रिब्यण्डरम्मा त्यो भन्दा तलको भाग अवस्थित छ ।