काठमाडौँ- पाकिस्तानले भारतका विभिन्न क्षेत्रमा ड्रोन र मिसाइल आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। गएराति जम्मू–कश्मीर, पन्जाब र राजस्थानका विभिन्न ठाउँहरूमा आक्रमण भएको समाचारहरूमा उल्लेख गरिएको छ।
पाकिस्तानले आत्मघाती ड्रोन र मिसाइलहरू प्रहार गरेको भारतीय सञ्चारमाध्यमले बताएका छन्। तर भारतीय पक्षले एस–४०० एअर डिफेन्स मिसाइल सिस्टमले ती सबै आक्रमण असफल बनाएको दाबी गरेको छ।
भारतीय मिसाइल आक्रमणहरूबाट पाकिस्तान र पाकिस्तान–नियन्त्रित कश्मिरमा दुई दर्जनभन्दा धेरैको ज्यान गएको छ भने आफ्नो भूमिमा भारतीय लडाकु विमानहरू खसालिएको दाबी पाकिस्तानले गरेको छ । कश्मिरको भारतीय तथा पाकिस्तानी नियन्त्रणमा रहेका भागहरू छुट्याउने, अत्यधिक सैनिककरण गरिएको सीमारेखा लाइन अफ कन्ट्रोल (LOC) मा भीषण गोलीबारी तथा हताहती पनि सुरु भएको छ ।
पाकिस्तानका रक्षा मन्त्रीले आक्रमणको बदलामा भारतलाई प्रभावकारी जवाफ दिइने बताएका छन् । दक्षिण एसियाका यी दुई आणविक शक्ति सम्पन्न मुलुकबीच संघर्ष तीव्र बन्दै जाँदा अमेरिकाले चाहिँ एउटा आकस्मिक तथा साँघुरो अवसरको सामना गरिरहेको छ । जहाँ यी दुई मुलुकबीचको द्वन्द्वबाट अझ गम्भीर संकट पैदा हुनबाट जोगाउन मात्र नभई अमेरिकी विश्वसनीयता बढाउन र यस युद्धको बाछिटालाई दक्षिण एसिया भन्दा बाहिर जान नदिनका लागि अमेरिकाबाट सघन तथा केन्द्रिकृत कूटनीतिक सक्रियताको अपेक्षा गरिएको छ ।
