बुद्धनगरमा एक पुरुषद्वारा आत्मदाहको प्रयास, अवस्था गम्भीर

काठमाडौँ- काठमाडौंको बुद्धनगरमा एक पुरुषले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।

बुद्धनगर बस्ने ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान अन्दाजी सवा ६ बजे आफ्नै घरको भान्सा कोठामा आगो लगाएका हुन्।

घटनाको जानकारी पाउनसाथ प्रहरीले उनको उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्‍याएको छ।

काठमाडौं प्रहरीका प्रवक्ता पवन भट्टराईका अनुसार चिकित्सकहरूले राउतको शरीर ५० प्रतिशतभन्दा बढी जलेको र उनको अवस्था गम्भीर रहेको जनाएका छन्।

राउत श्रीमती र छोरासँग बुद्धनगरमा बस्दै आएका थिए। तर, घटना घटेको समयमा उनकी श्रीमती र छोरा घरमा नरहेको प्रहरीले जनाएको छ।

आत्मदाह प्रयासको स्पष्ट कारण अहिलेसम्म खुल्न सकेको छैन।

यद्यपि, छिमेकीहरूका अनुसार शुक्रबार राउतको आफ्नै छोरासँग विवाद भएको थियो।

प्रहरी प्रवक्ता भट्टराईले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।