काठमाण्डाै – शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ६७ अङ्कले घटेर २ हजार ६०१ दशमलव ९२ विन्दुमा झरेको छ ।
आज सबै समूहको उपसूचक घटेकोमा व्यापार समूहको उपसूचक २ दशमलव ३६ प्रतिशतले ओरालो लागेको छ ।
आज २२९ वटा कम्पनीको शेयर घटेकोमा ४२ वटाको बढेको छ । यस्तै ६ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज बैंक अफ काठमाण्डुको डिबेन्चर ८ दशमलव ६६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन उपकार लघुवित्तको शेयर १२ दशमलव ६८ प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ३६१ वटा कम्पनीका ८७ लाख ५१ हजार कित्ता शेयर ४ अर्ब ६१ करोड रुपैयाँमा किनबेच भएको छ ।
