‘रोविन एण्ड दी रिभ्युलेसन’का गायक रोविन तामाङकाे निधन

काठमाडौं  – नेपाली रक ब्याण्ड ‘रोविन एण्ड दी रिभ्युलेसन’का गायक तथा संगीतकार रोविन तामाङको निधन भएको छ । उहाँको मंगलबार साँझ काठमाडौंको बुढानीलकण्ठस्थित निवासमा निधन भएको दिदी भगवती तामाङले पुष्टि गर्नु भयो।

उहाँको शव अहिले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । आज बुधबार बिहान १० बजे शव पोष्टमार्टम गरिनेछ।

नेपाली रक ब्याण्ड ‘रविन एन्ड लुज (रविन एन्ड दि न्यू रेभोलुसन)’का संस्थापक रविन पछिल्लो समय फिल्म अभिनयमा व्यस्त थिए । ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत दर्जन बढी फिल्ममा अभिनय गरेका उहाँको पछिल्लो फिल्म ‘छड्के २’ केही अगाडि प्रदर्शनमा आएको थियो ।

हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका उहाँको नेपाली रक गीतको विकासमा योगदान महत्त्वपूर्ण मानिन्छ ।

लाहुरे परिवारका रविनको जन्म सिंगापुरमा भएको थियो । सिंगापुरमै अध्ययन गरेका उहाँ अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए।

सन् १९९६ मा नेपाल आएका उहाँले गाएका ‘केटा केटी’, ‘मेरो माया’, ‘दम मारो दम’, ‘कल्पना’ लगायत कयौँ गीत युवापुस्ता माझ चर्चित छन् ।