बालाजुको बाइसधारामा मेला , ल्हुति पूणिर्माको महत्व

काठमाडौंको बालाजु बाइसधारामा आज मेला लागेको छ । बौद्ध र हिन्दू धर्मावलम्बीहरू दुवैको आस्था केन्द्रको रूपमा रहेको बालाजु र नागार्जुन क्षेत्रमा चैत शुक्ल पूणिर्माका दिन दर्शनार्थी विशेष गरी नुहाउनका लागि आउँछन् । नेवार समुदायले यो दिनलाई ल्हुतिपुन्हीका रुपमा मनाउँछन् ।

नागार्जुनको वनमा एक किसिमको ल्हुति भन्ने फल फल्ने गरेको र ती फलको रस त्यहाँबाट बग्ने पानीमा मिसिएर बाइसधारामा आउने भएकाले विशेषगरी छालासम्बन्धी रोग निको हुने विश्वासले नुहाउने दर्शनार्थीको भीड लाग्ने गरेको हो ।

यसै दिन ‘मन्नादी’ देवीको जन्म भएकाले विशेष गरी महिलाले बाइसधारामा नुहाउने र देवीको पूजा अर्चना गर्ने गर्दछन् । बाइसधारामा रहेकी देवीको पूजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ । बाइसधारामा नुहाए, जो कसैको पनि शरीरका सम्पूर्ण रोगव्याध हटेर सुख पाइने र पछि परलोकमा समेत पुण्य प्राप्त हुने धार्मिक मान्यता छ ।

बालाजुमा नेपाल संवत् ८७५मा कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ वटा ढुङ्गेधारा स्थापना गराएका थिए । पछि विक्रम सम्वत् १८५५मा राजा रणबहादुर शाहले थप एउटा ठूलो ढुङ्गेधारा स्थापना गरी बाइसधाराको नामले प्रख्यात रहन गएको हो, भनिन्छ ।
यस्तै, यो क्षेत्रका शीतलामाई र गुहेश्वरीको पूजा अर्चना गर्दा बिफर रोग लाग्दैन भन्ने भनाइ पनि छ ।

स्वयम्भू पुराणमा उल्लेख भए अनुसार कुनै समयमा महामञ्जुश्री, बोधिसत्व, केसिनी र उपकेसिनी देवीहरूसहित पञ्चशील पर्वत पार गरेर नेपाल आएका थिए । त्यतिबेला उनले नगरकोटमा बसी उपत्यकामा पानी कसरी विस्थापित गर्ने भनेर सोचेका थिए । पछि यहाँको पानी सुकेपछि विपस्वी बुद्धले कमलका फूल रोपेर “ॐ नमोरत्नत्रयाय’’ भनी मन्त्रोच्चारण गर्दा यहाँ स्वयम्भू ज्योतिरूपको उत्पत्ति हुन गएको देखिन्छ ।

यसैको सम्झनामा ल्हुतिपूर्णिमा मनाउने गरिएको हो भन्ने किंवदन्ती छ । विपस्वी बुद्धले ध्यान बसेको कारण यस पर्वतलाई “जातमात्रोच्च’’ नामकरण भएको भन्ने भनाइ छ । पछि अपभ्रंश हुँदै जाँदा यही पर्वतलाई जामाच्व भन्न थालिएको हो । महायानी दार्शनिक आचार्य नागार्जुनले बुद्ध भगवानको संस्मरण गरी यही जामाचो पर्वतमा रहेको गुफामा ध्यान–साधना गरी सिद्धि प्राप्त गरेका थिए ।

त्यसैले यस स्थानलाई नागार्जुन पर्वत भन्ने गरिएको पाइन्छ र ल्हुतिपूर्णिमाका दिन बाइसधारामा स्नान गरी यही जामाचोमा मृत आफन्तको नाममा बत्ती बाल्ने परम्परा रहिआएको छ ।

बालाजु बाइसधाराको जात्रामा पूर्णेको अघिल्लो दिनमै बौद्ध स्तुपमा भक्तजनहरू आउँछन् र रातभर दिवंगत आत्माको मुक्तिका लागि बत्ती बाल्ने गर्दछन् ।

चैतपूर्णिमाको बिहान सबेरै बालाजुको बाइसधारामा स्नान गरी स्वयम्भू स्तुपको ज्योतिको दर्शन गर्दछन् । साथै नागार्जुन स्तुपको पनि दर्शन गरी दिवंगत आत्माका बत्ती पुनः बाली र्फकने चलन छ ।

यस दिन नुवाकोटको कडेल्चोक भगवतीलाई पनि बालाजुमा ल्याई यहाँको हालको सेतो पाटीमा राखी हवन तथा राँगाको बलिद्वारा देवीको पूजा गर्ने परम्परा रहिआएको छ । त्यसपछि केही दिनसम्म भगवतीलाई यहीँ राख्ने परम्परा छ । त्यस्तै, मनमैजु देवीको जात्रा पनि बालाजु बाइसधाराको प्रसङ्गसंग जोडिएको छ । ल्हुतीपूणिर्माको मेलासँगै मनमैजु जात्रा पनि सुरु हुन्छ ।

यो दिन बालाजुको बाइसधारामा स्नान गरेर मनमैजु देवीको दर्शन गरेमा आफूले चिताएको कुरा पुग्छ भन्ने जनविश्वास छ ।

ल्हुतिपूणिर्माका दिन बाइसधारामा मात्र होइन अन्यत्र धेरै स्थानमा पनि जात्रा मेला पर्दछन् । विभिन्न जात्रा र पर्व पर्ने भएकाले यस ल्हुति पूणिर्माको महत्व छ ।