काठमाडौं -दक्षिण अमेरिकाका दुई शीर्ष टोली ब्राजिल र कोलम्बिया अमेरिकामा जारी कोपा अमेरिका फुटबलको क्वार्टरफाइनल प्रवेश गरेका छन् । समूह चरणको अन्तिम खेलमा आज बुधबार बिहान यी दुई देश भिड्दा खेल १–१ को बराबरीमा सकियो । यो बराबरीसँगै ब्राजिल र कोलम्बिया दुवै नकआउट चरण प्रवेश गरे । कोलम्बिया यो खेलअघि नै अघिल्लो चरण पुगिसकेको थियो । ब्राजिलले औपचारिकताका लागि कोलम्बियासँगको खेलसम्म पर्खिनु परेको हो । समूह चरणको अन्तिम खेलमा दुवै टिमले १–१ अंक बाँडेपछि ब्राजिल पनि अघि बढ्यो ।
समूह ‘डी’बाट कोलम्बिया ७ अंकका साथ समूहको विजेता बनेर अघि बढ्यो भने ब्राजिल ५ अंकका साथ दोस्रो स्थानमा रहेर अघि बढ्यो । अन्तिम खेलमा जितेको कोस्टा रिकाले ४ अंक जोडे पनि नकआउट चरण प्रवेशका लागि पर्याप्त भएन । यस समूहमा पाराग्वेले भने ३ खेल सबैमा हार भोग्यो । आज भएको खेलमा ब्राजिलका लागि १२औं मिनेटमा राफिन्हाले कर्नर किकमार्फत् शानदार गोल गरेर अग्रता दिलाएका थिए ।
