जेन–जी आन्दोलनमा ज्यान गुमाएका प्रहरीहरुको अन्त्येष्टि

जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएका तीन प्रहरीको अन्त्येष्टि गरिएको छ । भदौँ २४ गतेको हिंसात्मक घटनालाई नियन्त्रणमा लिने प्रयास गर्दा काठमाडौंमा तीन जना प्रहरीको मृत्यु भएको थियो।

प्रदर्शन हुँदा ड्युटीमा रहेका असई मिलन राय र जवान उत्तम थापामाथि महाराजगञ्जमा जम्मा भएका प्रदर्शनकारीले आक्रमण गरेका थिए । असई राय हिरासत व्यवस्थापनमा खटिएका थिए ।

हिरासतमा रहेका थुनुवालाई सुरक्षित बनाएर आफू सुरक्षित हुन खोज्दा उनी प्रदर्शनकारीको आक्रमणमा परेका थिए ।  उनलाई जोगाउन गएका जवान थापा पनि मारिएका थिए ।

सोही दिन कोटेश्वरमा जम्मा भएका प्रदर्शनकारीले आक्रमण गर्दा सहायक हवल्दार अमृत गुरुङले पनि ज्यान गुमाएका थिए । उनीहरूको शुक्रबार पशुपति आर्यघाटमा सलामी सहित अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ ।