काठमाडौं । वि.सं. २०४४ साल फागुन २९ गते काठमाडौंस्थित दशरथ रंगशालामा भएको भयावह दुर्घटनाले नेपाली खेलकुद इतिहासमा कहिल्यै नमेटिने पीडा छोडेको छ। त्रिभुवन च्यालेन्ज शिल्ड फुटबल प्रतियोगिताको फाइनल खेलका क्रममा आएको भीषण हावाहुरीका कारण भागदौड मच्चिँदा कम्तीमा ७१ जना खेलप्रेमीले ज्यान गुमाएका थिए भने कैयौं घाइते भएका थिए।
करिब ३० हजार दर्शक क्षमता रहेको रंगशाला उक्त दिन फुटबल समर्थकले खचाखच भरिएको थियो। फाइनल खेलमा नेपालका जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्तिजोद्धा टोली आमनेसामने हुँदै थिए। खेल हेर्नका लागि बुटवल, जनकपुर, वीरगञ्ज लगायतका विभिन्न स्थानबाट दर्शकहरू काठमाडौं आएका थिए।
दर्शकहरू टिकट बोकेर रंगशालाको दक्षिणी गेटबाट प्रवेश गर्न रस्साकस्सी गरिरहेका थिए। गेटमा तैनाथ सुरक्षाकर्मी तथा फुटबल संघका पदाधिकारीहरूले टिकट जाँच गर्दै दर्शकलाई भित्र पठाइरहेका थिए।
दिउँसो करिब २ः३० बजे सुरु भएको खेलमा बंगलादेशी टोलीले सुरुवाती अग्रता लिएको थियो। खेलको १९ औं मिनेटमा अचानक तीव्र हावाहुरी सुरु भयो। सैनिक मुख्यालयतर्फ रहेका ठूला रूखका हाँगा रंगशालाभित्र खस्न थालेपछि दर्शकहरू त्रसित बने। हावाहुरीबाट जोगिन दर्शकदीर्घामा भागदौड सुरु भयो।
तर रंगशालाका प्रवेशद्वारहरू बन्द र ताल्चा लगाइएका कारण दर्शकहरू समयमै बाहिर निस्कन सकेनन्। यसै कारण भागदौडमा किचिएर कम्तीमा ७१ जना फुटबल समर्थकको ज्यान गयो भने धेरैजना घाइते भए।
करिब पाँच मिनेटपछि हावाहुरी शान्त भएपछि प्रहरी सुरक्षाबीच बंगलादेशी खेलाडीहरूलाई होटलतर्फ लगियो भने जनकपुर चुरोट कारखानाका खेलाडीहरू भोटेबहालस्थित होटल पुगे। अखिल नेपाल फुटबल संघ (एन्फा) ले रोकिएको खेल पछि सञ्चालन गर्ने घोषणा गरेको थियो। तर, उक्त दुर्घटनापछि खेल पुनः सञ्चालन हुन सकेन। तीन दिनपछि बंगलादेशी टोली पनि स्वदेश फर्कियो।
घटनापछि तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री केशरबहादुर विष्टले नैतिक जिम्मेवारी लिँदै राजा वीरेन्द्रसमक्ष राजीनामा बुझाएका थिए।
यस घटनापछि दशरथ रंगशालामा फुटबल खेलका क्रममा दोस्रो हाफ सुरु भएलगत्तै प्रवेशद्वारहरू खुला राख्ने प्रचलन सुरु गरिएको थियो, ताकि आकस्मिक अवस्था आएमा दर्शकहरू सुरक्षित रूपमा बाहिरिन सकून्।
दशरथ रंगशालामा भएको उक्त त्रासदीलाई विश्व खेल इतिहासकै दुर्भाग्यपूर्ण घटनामध्ये एक मानिन्छ। मानवीय क्षतिको हिसाबले यो घटना विश्वका रंगशालामा भएका दुर्घटनामध्ये चौथो ठूलो दुर्घटनाका रूपमा लिइन्छ।
