एनआरएनएलाई एकताबद्ध र सुदृढ बनाउने लक्ष्यसहित रोजिना प्रधान राई उपाध्यक्षमा

गैरआवासीय नेपाली संघ (एनआरएनए) की महिला उपाध्यक्ष रोजिना प्रधान राईले संस्थालाई थप सुदृढ, पारदर्शी र एकताबद्ध बनाउने लक्ष्यसहित खुला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन्।

मार्चमा हुने एनआरएनएको १२औँ महाधिवेशन तथा विश्व सम्मेलनलाई लक्षित गर्दै उनले सो पदमा उम्मेदवारी दिएको बताएकी हुन्।

सन् २००७ देखि एनआरएनए अभियानमा सक्रिय रहँदै आएकी राईले संस्थाभित्र देखिएका चुनौतीहरूलाई आत्मसात गर्दै आफू सधैँ बृहत् एकता, पारदर्शिता र संस्थागत सुदृढीकरणको पक्षमा उभिँदै आएको बताइन्।

उनले संस्थालाई अझ प्रभावकारी र एकीकृत बनाउँदै विश्वभर रहेका नेपालीहरूलाई जोड्ने अभियानलाई निरन्तरता दिन आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारिन्।

“अब मेरो दृढ संकल्प यही हो कि संघलाई अझ सशक्त, एकीकृत र उच्चतम स्तरमा पुर्‍याउने काम निरन्तरता पाइयोस्। यही प्रतिबद्धतासहित म १२औँ महाधिवेशनमा खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु,” उनले भनिन्।

उनका अनुसार एनआरएनएको यात्रा साझा उत्तरदायित्व र सामूहिक प्रयासको प्रतीक हो।

दुई दशकभन्दा लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएकी राई हाल ट्वीकेसबरी बरो काउन्सिलको काउन्सिलरमा काउन्सिलरका रूपमा पनि कार्यरत छन्।