कीर्तिपुर । २०४६ सालको जनआन्दोलनका सहिदहरूको सम्झनामा कीर्तिपुर नगरपालिकामा शुक्रबार सहिद दिवस मनाइएको छ। प्रत्येक वर्षझैँ यस वर्ष पनि चैत २० गते स्थानीयस्तरमा सहिद दिवस आयोजना गरिएको हो।
सहिद स्मृति व्यवस्थापन समितिको आयोजनामा कीर्तिपुर नगरपालिका–३ खाःसि बजारस्थित सहिद स्तम्भमा पुष्पाञ्जली अर्पण गरी कार्यक्रम सम्पन्न गरिएको थियो। सो अवसरमा सहिदहरूको सम्झनामा ¥यालीसमेत निकालिएको थियो।
वि.सं. २०४६ को ऐतिहासिक जनआन्दोलनका क्रममा चैत २० गते प्रहरीको गोली लागेर कीर्तिपुरका लनबहादुर महर्जन, हिराकाजी महर्जन, राजमान माली र राजेन्द्र महर्जनले सहादत प्राप्त गरेका थिए। उनीहरूको सम्झनामा प्रत्येक वर्ष यस दिन सहिद दिवस मनाउने परम्परा रहँदै आएको छ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रदीप विष्ट, बागमती प्रदेश सांसद तथा पूर्वमन्त्री पुकार महर्जन, कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोल, उपप्रमुख शुभलक्ष्मी शाक्य सुनिता लगायत जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।
खाःसि बजारबाट सुरु भएको ¥याली कीर्तिपुर, पाँगा र आसपासका क्षेत्र परिक्रमा गरेको थियो। ¥यालीमा विभिन्न शैक्षिक संस्था, राजनीतिक दल, सामाजिक संघसंस्था तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
समितिका अध्यक्ष नारायण महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। कार्यक्रममा वक्ताहरूले सहिदहरूले देखाएको बाटोमा अघि बढ्न सबैलाई आह्वान गर्दै सहिदहरूको सपना अझै पूर्ण रूपमा साकार हुन नसकेको बताएका थिए।
त्यसैगरी, २०४६ सालको जनआन्दोलनका क्रममा देशका विभिन्न स्थानमा भएको दमन र गोलीकाण्डका घटनाहरूको समेत स्मरण गरिएको थियो। वक्ताहरूले राजनीतिक परिवर्तन भए पनि आम नागरिकले अपेक्षा गरेअनुसारको सुशासन र अनुभूति अझै प्राप्त गर्न नसकेको धारणा व्यक्त गरेका थिए।
