जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई लक्षित गरी आक्रमण भएको छ। एक सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका बेला प्रधानमन्त्री किशिदालाई लक्षित गरी ‘स्मोक बम’ फालिएको हो।
जापान टाइम्सको रिपोर्ट अनुसार प्रधानमन्त्री किशिदा र्यालीलाई सम्बोधन गर्न वाकायामा शहर पुगेका थिए। उनले यसै महिनाको अन्त्यमा हुने उपनिर्वाचनका लागि आफ्नो पार्टीको लिबरल डेमोक्रेटिक पार्टीका उम्मेदवारको समर्थनमा भाषण दिने भएका थिए।
यसै क्रममा संदिग्ध आक्रमणकारी पक्राउ परेका छन्। ती व्यक्तिले प्रधानमन्त्री सम्मिलित सभातिर धुवाँ निस्कँदै गरेको केही चिज फ्याँकेको एक प्रत्यक्षदर्शीले बताएका छन् ।
गत वर्ष यस्तै सभामा भाषण गरिरहेका बेला पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई गोली हानेर मारिएको थियो ।
