काठमाडौं – एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप आजदेखि नेपालमा सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आयोजना हुने प्रतियोगितामा नेपालले सोमबार किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपाल र किर्गिस्तानबीचको खेल दिउँसो ४ः३० बजेपछि हुनेछ ।
आज नै उज्वेकिस्तान र श्रीलंकाले बिहान ९ः३० बजे खेल्नेछ । त्यसपछि भारत र बंगलादेशबीच मध्यान्ह १२ बजे खेल हुनेछ । साँझ ७ बजे माल्दिभ्स र काजकस्तानबीच खेल हुनेछ ।
च्यालेन्ज कपको प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले विशेष समारोहका बीच उद्घाटन गर्नेछ । प्रचण्ड प्रधानमन्त्री रहँदा नै २०७४ जेठ ८ गते भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएको थियो ।
घरेलु मैदानमा नेपाल उपाधि उचाल्ने योजनासहित कोर्ट उत्रनेछन् । आइतबार आयोजित प्रि–म्याच कन्फरेन्समा नेपाली टोलीकी कप्तान अरुणा शाहीले प्रतियोगिताको उपाधि जित्दै ह्याट्रिक गर्ने योजना रहेको बताएकी छिन् ।
अरुणाले अघिल्ला दुई संस्करणमा उपाधि उचालिसकेको र यस संस्करणमा घरेलु कोर्टको फाइदा हुने भन्दै ह्याट्रिकको अवसर भएको बताईन् । भारतीय टोलीका कप्तानले तयारी राम्रो रहेकाले उपाधि योजना रहेको बताइन् ।
एनएससी काभा महिला भलिबल च्यालेन्ज कप १४ जेठसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुँदैछ ।
च्यालेन्ज कपमा ८ राष्ट्रको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । सात दिने प्रतियोगिताको सुरुवाती तीन दिन ४ खेल र बाँकी ४ दिन दुई खेल हुनेछन् ।
नेपालले जेठ ९ गते बंगलादेशसँग र जेठ १० गते भारतसँग खेल्नेछ । समूह एमा नेपालसँगै भारत, बंगलादेश र कीर्गिस्तान रहेको छ । अर्को समूहमा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकास्तान रहेका छन् ।
दुई समूहको राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिस्पर्धा गर्नेछन् । च्यालेन्ज कपमा कुल २० खेल हुनेछ ।
