काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदै छ। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। यी दुई टोलीबीचको खेल सोमबार साँझ ५ बजे सुरु हुनेछ।
एनपीएलको तेस्रो संस्करणको उपाधि जित्ने टोलीले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ। अघिल्लो संस्करणको तुलनामा यसपटक विजेता टोलीको पुरस्कार राशि ४० लाख रुपैयाँले बढाइएको क्यानले जनाएको छ।
क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार प्रतियोगितामा दोस्रो हुने टोलीले ८० लाख रुपैयाँ, तेस्रो हुने टोलीले ४० लाख रुपैयाँ र चौथो स्थान हासिल गर्ने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्।
गत संस्करणमा लुम्बिनी लायन्सले उपाधिसँगै एक करोड १० लाख रुपैयाँ पुरस्कार पाएको थियो। यसपटक पुरस्कार राशि बढाइएसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ।
एनपीएलको तेस्रो संस्करण सञ्चालन हुने अवधिमा समग्र आर्थिक कारोबार करिब डेढ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। आठ फ्रेन्चाइज टोलीको सहभागितामा सञ्चालन हुने प्रतियोगिताले नेपाली क्रिकेटको व्यावसायिक विकासमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ। प्रतियोगिताले खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिनुका साथै क्रिकेटसँग सम्बन्धित विभिन्न व्यावसायिक गतिविधिलाई समेत चलायमान बनाउने विश्वास गरिएको छ।
