रातो मच्छिन्द्रनाथको रथ जावलाखेलमा, भोटो जात्रा बिहिबार

रातो मच्छिन्द्रनाथको भोटो जात्रा विहिबार जेठ ११ गते हुने भएको छ। हिजो रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको थतिटोलबाट जावलाखेलमा ल्याइएसँगै भोटो जात्रा दिन तय भएको हो।

लगनखेलमा रहेको रथलाई जवलाखेलमा पुयाइएको चार दिनमा भोटो देखाउने परम्परा छ । भोटो जात्रा पछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टंगल लगिनेछ । त्यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।

हिजो विभिन्न टोलका बासिन्दा भेला भएर गुरुज्युको पल्टन, बाजा गाजासहितको लावालस्करले रथ तान्दै जावलाखेल पुर्याएको हो । मत्स्येन्द्रनाथको रथसँगै मीननाथको रथलाई पनि जावलाखेल पुर्याइएको छ । । थतीटोलबाट जावलाखेलसम्म रथ तान्ने क्रममा गुरुज्युको पल्टनले हर्षबढाइँ गरेपछि रथ तान्न सुरु भएको थियो । जावलाखेलसम्म रथ तानेर लैजाने क्रममा जीवित देवी कुमारीलाई पनि कुमारीपाटीस्थित पाटीमा विराजमान गराई रथ तानेको अवलोकन गराइएको थियो ।

जात्राको किंवदन्ती
करिब १४ सय वर्षपहिले राजा नरेन्द्रदेवका पालामा मुलुकमा लामो खडेरी परेको तथा भोकमरी र महामारीबाट जनता अकालमा मरेपछि त्यसलाई रोक्न काठमाडौं, ललितपुर र भक्तपुरका तान्त्रिकले भारतको कामरूप कामाक्षबाट मत्स्येन्द्रनाथलाई नेपाल भित्र्याएको किबंदन्तीछ ।

भोटो जात्राको कथा
परापूर्व कालमा कर्कट नागकी श्रीमतीको आँखाको उपचार गरेबापत एक किसानले उपहारस्वरूप पाएको बहुमूल्य गहना र हीराजडित भोटोसम्बन्धी विवाद मिलाउन हरेक वर्ष रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको परम्परा रहिआएको छ । हरेक वर्ष रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रामा गुठी संस्थानका प्रमुखले ‘यो भोटो कसको हो ?’ भनी देखाउने गर्छन् । कसैले सप्रमाण आएमा भोटो दिनुपर्छ भन्ने दाबी पनि गरिँदै आएको छ । परापूर्व कालमा नागराजकी श्रीमतीको आँखा दुखेपछि स्थानीय कृषकले तन्त्रमन्त्रद्वारा आँखा निको पारेपछि सो भोटो उपहारस्वरूप नागराजले दिएको किंवदन्ती छ ।