भैरव नाच अर्घाखाँचीको नेवाः समुदायले नाच्ने ऐतिहासिक, पौराणिक, धार्मिक र सांस्कृतिक नाच हो । अरू जिल्लामा यसलाई लाखे नाच भनेर भन्ने गरिए पनि अर्घाखाँचीमा भने भैरव नाच भन्ने प्रचलन छ। लाखे नाचमा एउटा मुकुट लगाएर नाच्ने गरिन्छ भने अर्घाखाँचीको भैरव नाचमा तीन वटा मुकुट लगाएर नाच्ने गरिएको छ । कालो मुकुट शिवजीको स्वरूप हो भने रातो मुकुट देवीको र सेतो मुकुट गणेशको प्रतीकको रुपमा नाच्दै आएको छ ।
यो धेरै पौराणिक नृत्य हो । जुन हजारौँ वर्षदेखि चल्दै आएको छ । यसलाई ताण्डव नृत्य पनि भन्न सक्छौँ । कालो भैरव ठुलो मुकुट लगाएर चौँरी गाईको छालाबाट बनेको ठुला ठुला मादलको तालमा नाचिन्छ । यो मादलको ताल तन्त्र साधना अन्तर्गतको हुन्छ, त्यसबाट विभिन्न किसिमको ध्वनि उत्पन्न हुन्छ । त्यसैको तालमा भैरव बन्नेले नाच देखाउँछन् ।
स्थानीयका अनुसार यो विशेष किसिमको झन्डै १० किलोको मुकुन्डो लगाएर संँगसँंगै डङ्किनी पनि लिएर करिब तीन घण्टासम्म सात तालमा नाच प्रस्तुत गरिन्छ ।यो नाचका लागि ठुलै ऊर्जा र शक्ति चाहिन्छ।
