ललितपुर – रातो मच्छिन्द्रनाथको रथ आजदेखि बनाउन शुरु हुँदैछ । तिथिको आधारमा बनाइने रथमा एउटा पनि फलामको किला प्रयोग गर्न नहुने रथ बनाउन संलग्न बाराही नाइके दिलकुमार बाराहीले बताउनु भयो ।
हिजो बेलुकी रातो मच्छिन्द्रनाथलाई महास्नान गरेपछि रथ बनाउनको लागि साइत पुजा भएको थियोे । हरेक वर्ष मच्छिन्द्रनाथलाई महास्नान गरेकै दिन रथ निर्माणका लागि पुल्चोकको दमकल चोकस्थित जोगाम्बर पीठमा गएर चार खम्बा राखेर पुजा गर्ने गरिन्छ ।
यसै विच हिजो महास्नान गरिएका रातो मच्छिन्द्रनाथलाई गुप्तबासमा राखिएको छ । महास्नानका दिन राति मच्छिन्द्रनाथलाई कसैले नदेख्ने गरी मन्दिर लगेर ७ दिनसम्म गुप्तबास राख्ने गरिन्छ ।
आउँदो अष्टमीका दिन मूर्तिलाई गुप्तबासबाट निकालेर मर्मत संभार गरेर रंगरोगन गरिनेछ। यसपाली रातो मच्छिन्द्रनाथलाई आँउदो वैशाख ८ गते रथारोहण गरेर ११ गतेबाट पुल्चोकबाट रथ तानिनेछ ।
