ललितपुर -आउँदो ११ गतेदेखि शुरु हुने रातो मच्छिन्द्रनाथको रथयात्राको लागि मीननाथको रथ निर्माण शुरु भएको छ । हरेक वर्ष बैशाख कृष्ण एकादशीका दिनदेखि पाटनको टंगलमा मीननाथको रथ बनाउने परम्परा अनुसार हिजो रथ निर्माण शुरु भएको हो ।
१० तलाको मीननाथको रथमा हिजो नै ५ तलासम्मको काम भएकोे रथ निर्माणमा संलग्न बाराही नाइके दिलकुमार बाराहीले बताउनु भयो । मीननाथको रथ ४० फिट जति अग्लो हुने उहाँले बताउनु भयो।
मीननाथको रथलाई रातो मच्छिन्द्रनाथको रथसँगै तानिन्छ ।
त्यस्तै रथयात्राको लागि पुल्चोकमा निर्माणाधिन रातो मच्छिन्द्रनाथको रथमा तला थप्ने काम सकिएको छ । तला थप्ने काम सकिएकोले ९ तले रथमा अहिले यंवाल गुथियारहरुले बेतले बाध्ने काम गरिरहेका छन् । अस्ती बैशाख २ गते रथमा पांग्रा जोडिएको छ।

त्यस्तै ललितपुरको महाबौद्धमा रातो मच्छिन्द्रनाथको रथमा राखिने सुनको फुल, झयाल , कौसी लगायतको ममर्त संभारको काम भइरहेको छ । फुल, झयाल लगायत सुनका सामग्रीहरु मच्छिन्द्रनाथलाई रथारोहण गर्ने दिनमा मात्र रथमा जोड्ने गरिन्छ ।
रातो मच्छिन्द्रनाथलाई आँउदो ८ गते शुक्रबार रथारोहण गरिनेछ ।
(फोटोः दिलकुमार बाराही)
