काठमाडौं – बहुभाषिक पत्रकारको संरक्षण र दक्षता बृद्धिका लागि मातृभाषाका पत्रकारितालाई यथोचित सहयोग गर्न मातृभाषी पत्रकारले सरकारसँग आग्रह गरेका छन् । नेपालभाषाका पहिलो पत्रकार धर्मादित्य धर्माचार्य (जगतमान वैद्य)को १२१औं जन्मजयन्ती तथा ८ मातृभाषा पत्रकारीता दिवसका अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘मातृभाषा पत्रकारितामा व्यावसायिकता’ विषयक अन्तरक्रियामा मातृभाषामा पत्रकारिता गर्ने पत्रकारको पहिचान हुन नसकेको भन्दै उनीहरूले मातृभाषी पत्रकारितालाई यथोचित सहयोग गर्न सरकारसँग माग गरेको हो ।
नेपालभाषा टाइम्सका सम्पादक सुरेशकिरण मानन्धरले संविधानमा समावेशिता उल्लेख रहेको तर भाषानीति नहुँदा मातृभाषा पत्रकारिताले बाधा व्यहोर्नु परेको भन्दै खस नेपाली र अरु मातृभाषाका पत्रकारितामा विभेद कायम भएकोले भाषा ऐन र नीति बनाएर त्यसको कार्यान्वयन आवश्यक भएको बताउनु भयो।

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले संस्कार, संस्कृतिको संरक्षण गर्न भाषाको संरक्षण अनिवार्य शर्त भएकाले मातृभाषा पत्रकारिता जोगाउन सरकारले सहयोग गर्न आवश्यक रहेको बताउनुभयो । नेपालको पहिचान नै बहुभाषिक, बहुसांस्कृतिक, धर्मनिरपेक्ष मुलुक बनिसकेकाले त्यो पहिचान जोगाउन पनि राज्यले मातृभाषा संरक्षणमा जोड दिनुको विकल्प नरहेको उहाँले बताउनुभयो । मातृभाषा पत्रकारिताले एकातर्फ भाषाको संरक्षण गरिरहेको र अर्कोतर्फ सम्बन्धित समुदायको आवाज सरकारसँग लग्ने र सम्बोधनमा पैरवी गर्ने तथा राज्यको नीति, नियम तथा निर्णयलाई मातृभाषी नागरिकबीच प्रवाह गर्ने काम गरिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा गणेश वाम्बु, दबूका निवर्तमान अध्यक्ष सुरजवीर वज्राचार्य, अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, , उपाध्यक्ष सुनिल महर्जन, महासचिव केके मानन्धर, राजु नापित, उपेन्द्र प्रधान, लगायतले मातृभाषा पत्रकारिताबारे चर्चा गर्नु भएको थियो ।
