सगरमाथाको चुचुरोमा मानव पाइला परेको ७० वर्ष पूरा

काठमाडौं –आज १६ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७० वर्षगाँठ मनाइँदै छ। विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको छ। सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेका थिए। सोही आरोहणलाई स्मरण गर्दै सगरमाथा आरोहणको ७०औँ वषगाँठको सन्दर्भमा ‘प्लाटिनम जुब्ली’ मनाइने भएको हो।

नेपालमा भव्य कार्यक्रम गरी सगरमाथाको ७०औँ वर्षगाठ मनाइने नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले जनाएको छ।

दिवसलाई भव्य बनाउन पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीको अध्यक्षतामा पर्यटन क्षेत्रका प्रतिनिधिमूलक संस्थासहितको मूल आयोजक समिति गठन गरिएको छ।

नेपालमा सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटर अग्ला आठवटा हिमाल छन्। हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको आरोहण पूरा गरिसकेका छन्। पर्यटन विभागका अनुसार यो यामको जारी आरोहणमा हालसम्म छ सय बढीले सगरमाथाको आरोहण गरेका छन्। यस वर्षको वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेबाट सुरु भएको थियो। यो यामको सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन्। विभागको पर्वतारोहण शाखाको विवरणमा ४७ आरोही समूहका एक सय तीन महिला र तीन सय ७६ पुरुष गरी कुल चार सय ७८ आरोहीले आरोहण अनुमति लिएका हुन्।

सरकारले आरोहणका लागि हालसम्म चार सय १४ वटा हिमाल खुला गरेको छ। विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये नेपालमा आठ छन्।

आरोहणका क्रममा तीन सय भन्दा धेरैको निधन भइसकेको छ।